क्वारेन्टाइन छ, मान्छे राखिदैन

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिकाले दुई वटा क्वारेन्टाइन बनाएको देखाएपनि भारतबाट आएका व्यक्तिलाई सिधैं घर पठाउने गरेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले दिएको विवरण अनुसार, बैजनाथको क्वारेन्टाइनमा एक महिनादेखि कोही बसेको देखिदैन । ‘दुई वटा क्वारेन्टाइन देखाइएको छ । तर, त्यहाँ कोही बसेको देखिदैन, स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भन्नुभयो, जमुनाहा नाकाबाट भारतमा पुगेका बैजनाथका मान्छे फर्किएको देखिन्छ । त्यहाँ क्वारेन्टाइनमा राखेको पाइएको छैन ।’
बैजनाथमा बीचमा क्वारेन्टाइन नै थिएन । लगातारको ताकेतापछि क्वारेन्टाइनसम्म बनाइएको छ । तर, त्यहाँ मानिस राखिएको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकामा एउटा क्वारेन्टाइन रहेको छ । त्यहाँ ६६ जना बसिरहेका छन् । कोहलपुरमा एउटा क्वारेन्टाइनमा ७० जना, खजुरामा एउटा क्वारेन्टाइनमा ३८ जना, जानकीमा एउटा क्वारेन्टाइनमा ११ जना, डुडुवामा एउटा क्वारेन्टाइनमा २३ जना, नरैनापुरमा एउटा क्वारेन्टाइनमा दुई जना, राप्तीसोनारीमा दुई वटा क्वारेन्टाइनमा १८ जना बसिरहेका छन् । आजको मितिसम्म बाँकेमा १० वटा क्वारेन्टाइनमा ६५ महिला र एक सय ६३ पुरुष गरी २ सय २८ जना बसिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !