धम्बोझीको सान : ‘मिनी रंगशाला’
नेपालगञ्ज – गएको वर्ष खजुराका विपिन श्रेष्ठ एन्फा एकेडेमीमा छनौट भए । उमेर समूहका बालक एन्फा एकेडेमीमा छनौट हुनु भनेको उसको ‘क्यारियर’ बन्नु हो । छनौट भएको बच्चालाई एन्फाले फुटबल खेलाउने मात्रै होइन, आवाससहितको पढ्ने व्यवस्था मिलाउँछ ।
एन्फा एकेडेमीमा परेका बच्चाले राष्ट्रिय जर्सी लगाउने संभावना बढी हुन्छ । निशुल्क पढाई पनि दिने भएकाले एन्फा एकेडेमीमा पर्नु चुनौती पनि छ । अझ विशेष गरेर पश्चिम क्षेत्रका बालबालिका कमै छानिन्छन् । किनकी, छनौटमा कडा प्रतिस्पर्धा हुन्छ । पूर्वमा सेवा सुविधा भएकाले त्यहाँका बच्चासँग पश्चिमले प्रतिस्पर्धा गर्न सक्दैन । अहिलेसम्म यस्तो देखिएको छ ।
बुटवल भन्दा पश्चिममा नेपालगञ्जको धम्बोझीमा एन्फा ग्रासरुट फुटबल एकेडेमी अर्थात मिनी रंगशाला तयार भएकाले अब यहाँबाट राष्ट्रिय जर्सी लगाउने बालबालिकाको संख्या बढ्ने विश्वास गरिएको छ । मिनी रंगशालाले धम्बोझीको मात्रै होइन, जिल्ला हुँदै पश्चिमकै सान बढाएको छ । यसले राष्ट्रिय जर्सी लगाउने पश्चिमका बालबालिका, किशोर, युवाको संख्या थप्छ नै ।
८ देखि १२ वर्षका बच्चाले नियमित प्रशिक्षण, अभ्यास गर्दा फुटबलको उचाई बढाउनेमा दुईमत छैन । कुनै पनि खेलको विकास गर्नका लागि बालबालिकालाई लक्षित गरेर कार्यक्रमहरु चलाउनु पर्छ । यो भनिरहनु पर्ने कुरै होइन । वडा कार्यालय (उपमहानगरपालिका) को अगुवाईमा धम्बोझीमा बनेको मिनी रंगशालाले यसकै उपज हो ।
नजिक भएकाले धम्बोझीका बालबालिकाले मिनी रंगशालाबाट बढी लाभ पाउँछन् नै । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले तत्काल नै कम्तीमा सय जना बालबालिकालाई हप्ताको दुई दिन फुटबल प्रशिक्षण दिने बताउनुभयो । फुटबल भनेको सामान्य खेलमात्रै होइन, यो जीवन हो । यसले अनुशासन, नैतिकता सिकाउँछ । मिनी रंगशालामा बालबालिकालाई फुटबल प्रशिक्षणसँगै अनुशासन, नैतिकता र व्यवहारिक ज्ञान सिकाइन्छ । संघका अध्यक्ष शाहीले भन्नुभयो, ‘बालबालिकालाई महिनामा एकपटक कक्षा लिन्छौं । त्यसमा अनुशासन, नैतिकता र व्यवहारिक ज्ञानका कुरा सिकाउँछौं ।’ फुटबलमा लागेका बालबालिका अनुशासित हुन्छन्, कुलतमा फस्दैनन् भन्ने देखाउनु पर्छ । अनुशासनमा बस्नु पर्छ । आमाबुवाले भनेको मान्नु पर्छ । पढ्नु पर्छ । जंक फुड खानु हुँदैन । फोहोर शब्द बोल्नु हुँदैन, मोबाइलमा धेरै झुण्डिनु हुँदैनजस्ता व्यवहारिक ज्ञानका कक्षाहरु दिंदा नेपालकै लागु औषधीको ट्रान्जिट मानिने नेपालगञ्जका बालबालिका यो जोखिमबाट अलग रहन सक्छन् ।
वडा कार्यालयको अगुवाईमा नेपालगञ्ज उपमहानगरपालिकाले मिनी रंगशालामा खन्याएको रकमले बालबालिकालाई अनुशासित खेलाडीका साथै नैतिकवान बनाउन सक्दा उपलब्धीपूर्ण मानिने छ । संघले मिनी रंगशाला परिसरमै कार्यालय राखेर फुटबल गतिविधि गर्दैछ । संघका अध्यक्ष शाहीका अनुसार, अहिले उपलब्ध तीन जना प्रशिक्षकलाई बालबालिकाको प्रशिक्षणमा परिचालन गरिएको छ । अन्य दुई जना स्थानीय युवालाई प्रशिक्षकको रुपमा जोडिएको छ । संघले यसअघि ग्रासरुटका अभियान चलाउदा स्कूलले बालबालिका पठाएका थिए । धम्बोझीमा चल्ने प्रशिक्षणमा बालबालिका आफै आउँछन् । शुरुमा शुक्रबार र शनिबार प्रशिक्षण चलाउने योजना छ । कम्तीमा सय जनालाई नियमित प्रशिक्षण दिने र त्यसबाट राष्ट्रिय जर्सी लगाउने खेलाडी उत्पादन गर्ने संघका अध्यक्ष शाहीले मात्रै होइन, वडाध्यक्ष प्रमोद रिजालले सपना देख्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ मा पर्ने धम्बोझीमा मिनी रंगशाला बनाउन वडाध्यक्ष रिजालको अहम् भूमिका रहेको छ । वडाध्यक्ष रिजालको सक्रियता र संघका अध्यक्ष शाहीको साथ, समर्थनले मिनी रंगशाला बनेको छ । श्री रामजानकी गोकुलेश्वर महादेव मन्दिरको नाममा रहेको २३ कठ्ठा जग्गामा मिनी रंगशाला तयार पारिएको छ । प्रदेश सरकारले खेल मैदान बनाउन पठाएको एक करोडमध्येमा ८५ लाख रुपैया मिनी रंगशालामा खर्च भएको छ । त्यसबाहेक वडा कार्यालयले १५ लाख रुपैया हालेको छ । प्रदेश सरकारले पठाएको रकम अन्तिम अवस्थामा आएकाले सबै खर्च गर्न सकिएको थिएन । खासमा प्रदेश सरकारले नेपालगञ्जमा क्रिकेट मैदान बनाउनका लागि पैसा पठाएको थियो । क्रिकेट मैदानका लागि जग्गा उपलब्ध हुन नसकेपछि फिर्ता हुन थालेको रकमलाई मिनी रंगशालामा प्रयोग गरिएको थियो । यो उपलब्धीपूर्ण पनि भएको छ ।
एन्फा ग्रासरुट फुटबल एकेडेमीलाई किन मिनी रंगशाला भनिएको होला भन्ने पनि जिज्ञासा हुन सक्छ । वडाध्यक्ष रिजाल भन्नुहुन्छ, ‘त्यही भित्र क्रिकेटको नेट अभ्यास, सफ्ट टेनिस, लन टेनिस, बास्केट बल प्रशिक्षण पनि हुन्छन् ।’
नेपालगञ्जमा सुविधायुक्त रंगशाला छदैछ । सिनियर खेलाडी र ठूल्ठूला प्रतियोगिता त्यही हुन्छ । फुटबलबाहेकका अन्य खेलका सुविधायुक्त पूर्वाधार छदैछन् । धम्बोझीमा बनेको मिनी रंगशालाको आफ्नै महत्व हुनेछ । यहाँबाट उत्पादन भएका बालबालिकाले राष्ट्रिय जर्सी लगाएर एक दिन धम्बोझीलाई स्मरण गर्दा मिनी रंगशालाका निर्माणकर्ता वडाध्यक्षदेखि संघका अध्यक्ष, पदाधिकारीको नाम उनीहरुको ओठमा पक्कै झुण्डिने छ । खेलकुदको उर्वरभूमि मानिने धम्बोझीलाई अझ उचाईमा पु¥याउन मिनी रंगशालाले कयौं इट्टा थप्ने विश्वास गरिएको छ ।
(वडा नं. १ ले आइतबार प्रकाशन गरेको ‘धम्बोझी’ नामक पुस्तकबाट साभार)