व्यवसायीको ११ बुँदे माग
नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघले विभिन्न माग राखेर नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।
संघको त्रिभुवनचोकस्थित कार्यालयबाट नारा जुलुश गर्दै धम्बोझीस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाइएको हो । व्यवसायीले विभिन्न ११ बुँदे माग अघि सारेका छन् ।
बैंकहरुले सहुलियत कर्जा तथा आकस्मिक कर्जा तत्काल सरल प्रक्रिया अपनाई तोकिएको भन्दा बृद्धि गर्नुपर्ने, व्यवसायीलाई लक्षित गरी सहुलियत ब्याजदर तीन प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, विद्यमान सबै ऋणलाई दुई वर्षको लागि ब्याज र किस्तालाई पूँजीकरण गर्ने र दुई वर्षभित्र न्यून लागतमा ब्याज तिर्ने व्यवस्था गर्ने, मासिक, त्रयमासिक किस्ताहरुको भुक्तानी अवधि कम्तीमा ६ महिनासम्म स्थगित गर्ने व्यवस्था तथा अन्य कर्जाको भुक्तानी म्याद दुई वर्षदेखि ५ वर्षसम्म कायम गर्नुपर्ने, कोभिड–१९ को असरले घाटामा गएका कम्पनी तथा फर्मलाई कारोबारको अनुपातमा पुनर्कर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, टे«डिङ व्यवसाय तथा अन्य व्यवसायहरुलाई ऋण र धितोमा नै बिना शर्त ३० प्रतिशतसम्म न्यून ब्याजमा पुनर्कर्जा दिने सरल र सहज व्यवस्था गर्नुपर्ने, लकडाउनको अवधिमा कर्जाको ब्याज भुक्तानी गर्ने व्यवसायीहरुलाई छुट तथा ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने माग अघि सारिएको छ ।
संघले कर्जाको ब्याजदर घटाउन, वेस रेट कम गर्न निक्षेप र कर्जाको बीचको अन्तर घटाएर तीन प्रतिशत कायम गर्नुपर्ने, राष्ट्रिय स्तरमा मात्र उत्पादित कच्चा पदार्थ प्रयोग हुने सान तथा मझौला उद्योग व्यवसायलाई शून्य ब्याजमा लगानी गर्ने वातावरण बनाउनु पर्नेलगायतको माग गरेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको उपस्थितिमा महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य, संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, अध्यक्ष अब्दुल वाहिद मन्सुरी, उपाध्यक्षद्वय आदेश अग्रवाल र अमित बस्नेत, महासचिव चिरञ्जीवी ओली, उपमहासचिव धर्मलाल अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामीलगायत कार्य समिति सदस्यसहित व्यवसायीको समूहले राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउनुभयो ।