भारतीय प्रहरी दुवे खोज्दै नेपालगञ्जमा

नेपालगञ्ज – ‘मस्ट वान्टेड’ विकास दुवे खोज्दै भारतीय प्रहरी नेपालगञ्ज आइपुगेका छन् । दुवेको बारेमा सूचना दिनेलाई दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको भारतीय प्रहरीको एक टोली बुधबार नेपालगञ्ज आइपुगेको हो ।
डीएसपीको कमाण्डमा आएको टोलीले बाँके प्रहरी प्रमुख एसपी ओम रानालाई भेटेको छ । भारतीय प्रहरीले दुवे नेपालगञ्ज नाका आसपासमा लुकेको हुन सक्ने आशंका गर्दै उसलाई पक्राउ गर्न बाँके प्रहरीसँग सहयोग मागेको छ ।
बाँके प्रहरी प्रमुख एसपी रानाले मस्ट वान्टेड दुवे नाकातिर लुकेर बसेको हुन सक्ने भएकाले उसलाई पक्राउ गर्न सहयोग मागिएको बताउनुभयो । ‘हामीले नाकामा कडाई गरिरहेका छौं, एसपी रानाले भन्नुभयो, भारतीय प्रहरी आएर पनि दुवेलाई पक्राउका लागि सहयोग गर्न आग्रह गरेका छन् ।’
भारतमा मस्ट वान्टेड रहेका दुवेका विरुद्धमा धेरै मुद्दा रहेका छन् । केही दिन अघि उनलाई पक्राउ गर्न जादा आठ जना प्रहरीको हत्या गरिएको थियो । खुल्ला नाका रहेकाले नेपालगञ्ज नाकाबाट नेपालमा आएर लुकेको हुन सक्ने भारतीय प्रहरीको आशंका रहेको छ । त्यसैपनि खुल्ला सीमाको फाइदा उठाउँदै नेपालका अपराधी भारतमा र भारतका अपराधी नेपालमा आएर लुकेर बस्ने गर्दछन् । यस्ता अपराधीलाई पक्राउ गर्न नेपाल र भारतका सुरक्षा अधिकारीहरुका बीचमा समन्वय हुँदै आएको छ । दुई देशका सीमावर्ती अधिकारीका बीचमा हुने बैठकहरुमा पनि सहयोग र समन्वयका कुराहरु हुने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !