मास्क लगाउ है, नत्र सय रुपैया तिर्नु पर्ला

नेपालगञ्ज – मास्क नलगाएका एकजना पैदल यात्रु विद्युत कार्यालय नजिकैको पुग्छन् । उनलाई प्रहरीले रोक्छ । उनी यताउता हेर्छन्, नजिकैको पसलबाट ३० रुपैयामा मास्क किनेर मास्क लगाउँदै गन्तब्य तिर लाग्छन् ।
यो दृश्य राप्ती रोड बसपार्कको हो । स्थानीय प्रशासनले मास्क लगाएर मात्रै बाहिर हिड्न भनेको छ । बाँके प्रहरीले सूचना जारी गरिसकेको छ । मास्क नलगाउनेलाई सय रुपैया जरिवाना गर्ने प्रहरीको उर्दी रहेको छ ।
बजारमा मास्क नलगाएर हिड्ने बढी देखिएपछि यस्तो नीति लिइएको छ । त्यसको कार्यान्वयनका लागि प्रहरीले निगरानी बढाएको छ ।
नेपालगञ्ज नगर भित्र लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा सर्वसाधारणहरु मास्क प्रयोग नगरी हिडेको देखिन्छ । मोटरसाइकल, साइकल, रिक्सामा सवार र पैदल यात्रुहरु सबैलाई प्रहरीले मास्क लगाउन अनुरोध गरेको छ ।
तर, मास्कको बजार मूल्यमा भने एकरुपता छैन । सर्जिकल मास्क बजारमा आफुखुसी मूल्यमा बिक्री वितरण भइरहेको पाइएको छ । बजार अनुगमन प्रभावकारी हुन नसक्दा सर्वसाधारणले मास्क र स्यानिटाइजरको चर्को मूल्य चुकाइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !