बाघको छालाको मूल्य २४ लाख !

नेपालगञ्ज – ५ नम्बर प्रदेश ब्यूरोले बाँकेमा बरामद गरेको पाटे बाघको छाला २४ लाख रुपैयामा बेच्ने तयारी गरेको खुलेको छ ।
बाघको छाला र एघार किलो हड्डीसहित पक्राउ परेका राप्तीसोनारी–१, सिमलघारीका नवराज घर्तिले २४ लाखमा बेच्ने गरी छाला र हड्डी ल्याएको बताउनुभयो । ब्यूरोका इन्चार्ज प्रमोद क्षेत्रीको टोलीले घर्तिलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको थियो ।
घर्तिले अर्कैसँग छाला र हड्डी लिएको जिकिर गर्नु भएको छ । बाघ कहाँ मारियो भन्ने अनुसन्धान भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटे बाघ छन् । निकुञ्जका वार्डेन प्रमोद भट्टराईले बाँके राष्ट्रिय निकुञ्जको हो कि बाहिरको हो भन्ने बुझ्ने काम भइरहेको बताउनुभयो । ‘निकुञ्जको मध्यवर्ती क्षेत्र भन्दा बाहिरबाट छाला र हड्डी बरामद भएको छ । त्यो मारिएको पाटे बाघ निकुञ्जको हो कि सीमावर्ती भारतीय जंगलको हो, हामी बुझ्दै छौं, वार्डेन भट्टराईले भन्नुभयो ।
भारतीय जंगलमा बाघ मारेर त्यसको छाला र हड्डी नेपाल हुँदै चीन पु¥याउने गरिन्छ । बाघ मार्दा नेपालमा ५ देखि १५ वर्ष कैद र दश लाखसम्म जरिवाना हुन्छ ।


error: यो सुविधा उपलब्ध छैन !