क्वारेन्टाइनमा बसेकालाई कुट्ने पक्राउ
नेपालगञ्ज – क्वारेन्टाइनमा बसेका करण (कर्ण) सारुमगरलाई ‘खन्ता’ले टाउकोमा हानेर घाइते बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ चौथो साता टिटिहिरियाको नेपाल राष्ट्रिय विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका सारुमगरलाई स्थानीय तीन जना युवाले कुटेका थिए । समोसाका विषयमा विवाद हुँदा स्थानीय युवाले नजिकै रहेको खन्ताले टाउकोमा हानेका थिए । घाइते सारुमगरको भेरी अस्पताल, नेपालगञ्जमा उपचार गरिएको थियो ।
घटनालगत्तै तिनै जना फरार रहेका थिए । बाँके प्रहरीले घटना भएको २५ दिनपछि उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर कारबाही अघि बढाएको बाँके प्रहरीले जनाएको छ । सारुमगरलाई कुट्नेहरु क्वारेन्टाइनका सहयोगी थिए ।