यस्तो आयो, खजुराको नीति तथा कार्यक्रम

खजुरा – बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पूर्वाधार र रोजगारीलाई जोड दिनुभयो ।
कृषिको आधुनिकिकरण र व्यवसायिककरण गर्न सहुलियत बिउबिजन, सिंचाई, प्रविधि, तालिम, पकेट क्षेत्र स्थापना गरिने नीति लिइएको छ । बाँझो जग्गाहरुको लगत संकलन गरि पुनः उपयोगको व्यवस्था मिलाउन भूमि बैंकको अवधारणा अघि बढाइने छ । उक्त कार्यलाई प्रोसाहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गर्नुका साथै कोभिड–१९ विशेष कृषि कार्यक्रम सञ्चालन गरिने नीति लिइएको गाउँपालिकाका प्रमुख कक्षपतिले बताउनुभयो ।
शिक्षाको मूलधारमा ल्याउन उमेर समूहका व्यक्तिहरुलाई साक्षर बनाउन, सबै बालबालिकाको पढ्ने अधिकारको सुनिश्चित गर्न अनिवार्य निशुल्क आधारभुत शिक्षा प्रदान गर्ने, माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्दै लगिने, प्रविधिमैत्री शिक्षा सहित व्यवस्थापन मिलाइने नीति लिइएको छ । स्वास्थ्य तर्फ स्वस्थ गाउँको अवधारणा अनुसार स्वच्छ खानेपानी, सुविधा सम्पन्न शौचालय लगायतका सूचकहरु तयार गरि लागु गरिने नीति लिइएको छ । स्वास्थ्य सेवालाई आधुनिक र सेवाग्राहीमैत्री बनाइने, एकीकृत र दिगो स्वास्थ्य सेवा प्रणालीको संस्थागत संरचनाको विकासमा जोड दिइएको छ ।
जेष्ठ नागरिकलाई ६÷६ महिनामा विशेषज्ञ सेवा सहितको निशुल्क सेवा प्रदान गर्ने, ८४ वर्ष पुरा भएका अति विपन्न वर्गका लागी आर्थिक सहयोग गरिने नीति लिइएको छ । उद्योग पर्यटन विकासलाई पनि नीतिमा समेटिएको छ । पर्यटन तर्फ होमस्टेको अवधारणालाई अघि बढाइने, खजुरा–४ मा पर्यटकीयस्थलको विकास गरिने नीति लिइएको छ । पूर्वाधार विकास तर्फ सडक, तथा पुल, सिंचाई, लघु तथा साना जलविद्युत लगायतका विकास गर्दा वातावरणमैत्री गुणस्तरीय विकासमा जोड दिइनेछ । सुशासन, पारदर्शिता, जवाफदेयिता, र उत्तरदायी शासन प्रणाली तथा भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने नीति लिइएको छ । गाउँपालिकाको सिफारिसमा उद्यम गर्ने युवाहरुलाई बैंक वित्तीय संस्थामार्फत १० लाखसम्म बिना धितो कर्जा उपलव्ध गराउन सक्ने व्यवस्था मिलाइने गाउँपालिकाका प्रमुख कक्षपतिले बताउनुभयो । स्थानिय स्रोत साधनको पहिचान गरि यसको अधिकतम उपयोग गर्ने, रोजगारिको अवसर सिर्जना गरि गरिवी न्यूनिकरण गर्नै नीति लिइएको छ ।
प्रदेश सरकारबाट घोषणा भएको प्रदेशस्तरीय विश्व विद्यालय स्थापना र सञ्चालनमा ल्याउन गाउँपालिकाबाट आवश्यक सहयोग उपलव्ध गराइने नीति लिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !