६० जनाले गरे रक्तदान

नेपालगञ्ज – ‘रक्तदान नै जीवन दान’ भन्ने मुख्य नाराका साथ नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी पुरैनी, उपशाखाको आयोजना तथा वडा कार्यालयको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उपशाखा सभापति फनबहादुर गुरुङ्गको सभापतित्वमा भएको उद्घाटन सत्रमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका प्रदेश कोषाध्यक्ष राजकुमार वर्माले रक्तदानप्रतिको जनचेतना ग्रामीण क्षेत्रमा फैलाउन जरुरी रहेको बताउनुभयो । उहाँले रक्तदान गर्दैमा मानिस कमजोर नहुने उल्लेख गर्दै यो कुरा आम सर्वसाधरणलाई बुझाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले रेडक्रस अहिले कोरोना भाइरस जस्तो महामारीसँग जुधिरहेको भन्दै मानवीय सेवामा समर्पित हुन सबैलाई आव्हान गर्नुभयो । उहाँले स्थानीय सरकारले समेत रक्तदानको महत्व र आवश्यकता बुझ्न जरुरी रहेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका–२२ का वडाअध्यक्ष विद्याराम वर्माले कुनै पनि नागरिकहरु रगत अभावमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले वडा कार्यालयले रेडक्रससँग समन्वय गरेर अघि बढेको बताउनुभयो ।
रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, भेरी अस्पताल, नेपालगञ्जका फिजिसियन डाक्टर पारस श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा डा. श्रेष्ठसँगै पत्रकार प्रियास्मृति ढकाल, मधु पौडेललगायत ६० जनाले रक्तदान गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !