नरैनापुरको बजेट ५५ करोड

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकाले ५५ करोडको बजेट ल्याएको छ ।
गाउँपालिकाको चौथो गाउँसभामा बुधबार गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७७-७८ का लागि ५५ करोड २८ लाख २३ हजार ३ सय ६० को बजेट प्रस्तुत गर्नुभएको हो ।
पूर्वाधार विकासमा सशर्त बाहेक ४ करोड ८० लाख, विविध अनुदान अन्तर्गत गौशाला निर्माणका लागि ७ करोड, गाउँपालिका भवन निर्माणमा ४ करोड, सशर्त बाहेक शिक्षामा २ करोड १८ लाख, स्वास्थ्यमा १ करोड ७४ लाख, कृषि तथा पशुमा १ करोड, विपत् व्यवस्थापनमा १ करोड र महिला सशक्तिकरण तथा समवेशीकरणमा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त ३९ करोड २० लाख ९७ हजार ३ सय ६०, प्रदेश ५ सरकारबाट ३ करोड ५३ लाख १ हजार र आन्तरिक राजश्वतर्फ अनुमानित ५४ लाख १५ हजारमा आधारित रही आर्थिक बर्ष २०७७-७८ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । कोभिड–१९ नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको खरालले बताउनुभयो ।
गाउँपालिकालाई नेपाल सरकारबाट समानीकरण अनुदान ११ करोड २३ लाख, नेपाल सरकार राजश्व बाँडफाँड ९ करोड १३ लाख ९७ हजार ३ सय ६०, सशर्ततर्फ १७ करोड ६४ लाख र विशेष एवं समपूरक अनुदानतर्फ १ करोड २० लाख रुपैयाँ प्राप्त भएको छ ।
प्रदेश ५ सरकारबाट समानीकरण अनुदान ५५ लाख ९ हजार, राजश्व बाँडफाँड ३९ लाख ४२ हजार, सशर्ततर्फ १ करोड ४८ लाख ५० हजार र विशेष एवं समपूरक अनुदानतर्फ २ करोड १० लाख रुपैयाँ प्राप्त भएको छ । जिल्ला समन्वय समितिको विविध अनुदानतर्फ ११ करोड रुपैयाँ रहेको खरालले बताउनुभयो ।
चालू आर्थिक बर्षका लागि नरैनापुर गाउँपालिकाले ४३ करोड ३४ लाख १ हजारको बजेट ल्याएको थियो । उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तब, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, ३ का अध्यक्ष राजकुमार मौर्य, ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, ६ का अध्यक्ष विरेन्द्रपाल सिंह, कार्यपालिका सदस्य, वडा सदस्यको उपस्थिति रहेको गाउँसभाको सञ्चालन गाउँपालिकाका प्रशासन तथा जिन्सी शाखा प्रमुख भरत महतोले गर्नुभएको थियो । नीति तथा कार्यक्रम र बजेट पारित गर्दै गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !