सडकको फूल र ट्रिगार्ड चोरी !
नेपालगञ्ज – नेपालगञ्जमा सौन्दर्यकरण र हरियालीका लागि फोरलेन सडकको बीचभागमा लगाइएका फूलका विरुवा चोरी हुन थालेका छन् ।
फूलको संरक्षणका लागि लगाइएका ट्रिगार्ड समेत ठाउँठाउँबाट चोरी भएको नगर प्रमुख डा. धवलशमशेर राणाले जानकारी दिनुभयो । बिहीबार राती नगरको विपीचोक क्षेत्रबाट दुईवटा फूलका विरुवा चोरी भएका छन् । यसअघि पनि फूलका विरुवा र ट्रिगार्ड चोरी भएको उपमहानगरपालिकाले जनाएको छ ।
नगरको सौन्दर्यकरणका लागि लगाइएका फुल तथा ट्रिगार्ड चोरी गर्ने र जथाभावी फूलहरु टिप्नेको पहिचान गरि कारबाहीका लागि नगर प्रहरी र अन्य सुरक्षा निकायमार्फत निगरानी बढाइएको छ, नगर प्रमुख डा. राणाले भन्नुभयो, ‘नगरको सौन्दर्यकरण सम्पूर्ण नगरबासीको पनि चाहना हो ।’
नगर प्रमुख राणाले सडकको बीचभागमा रोपिएका फूल तथा ट्रिगार्ड चोरी गर्ने र बिक्री वितरण गर्ने तथा फूलहरु जथाभावी टिप्नेहरुको बारेमा कुनै पनि सूचना भएमा उपमहानगरपालिका तथा सुरक्षा निकायमा खबर गरि सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नगरलाई सौन्दर्यकरणका लागि प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख राणाले आम नगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ । उपमहानगरपालिकाले नगरको सौन्दर्यकरणका लागि नगरभित्र रोपिएका फूल तथा विरुवाको संरक्षणका लागि आम नगरबासीमा अपिल गर्नुभएको छ ।