सुकुम्बासी बस्तीमा सोलार
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १८ ले शान्तिनगर टोल, नयाँबस्तीमा सोलार वितरण गरेको छ ।
तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत वडा नं. १८ ले सुकम्बासी, दलित तथा मधेसी बस्तीमा सोलार वितरण गरिरहेको छ । वडाध्यक्ष दीपक बर्माले सुकुम्बासी, दलित तथा मधेसीलाई अध्यारोमा बस्न नपरोस् भनेर सोलार वितरण गरिरहेको बताउनुभयो ।
नयाँबस्ती सुकुम्बासी बस्ती हो । यहाँका बासिन्दासँग लालपूर्जा नहुँदा बत्तीको मिटर राख्न सकेका छैनन् । सरकारले ऐलानी जग्गामा बस्नेलाई विजुली मिटरका लागि सिफारिस दिने गरेको छैन । २०६० सालमा सुर्खेत, दैलेखलगायत विभिन्न जिल्लाबाट आएर नयाँबस्तीमा बसेका ५४ घरपरिवारलाई वडाले सोलार दिएको हो । ‘हामीले यो सुकुम्बासी टोलका ५४ घरपरिवारलाई सोलार दिदैछौं, त्यसको शुरुवात आजबाट गरेका छौं, वडाध्यक्ष बर्माले भन्नुभयो, पहिलो दिन २२ घरलाई दियौं ।’
वडा सदस्य दिग्विजय ढुंगानालाई साथमा लिएर बस्तीमा पुगेका वडाध्यक्ष बर्माले स्थानीयलाई सोलार वितरण गर्नु भएको थियो । वडाध्यक्ष बर्माका अनुसार, वडा नं. १८ मा २ सय ५९ घरलाई सोलार वितरण गरिदैछ । तराई मधेस समृद्धि कार्यक्रमबाट ४५ लाख रुपैया आएको छ । त्यसमा दश प्रतिशत म्याचुअल फन्ड थप्नु पर्छ ।
नयाँबस्तीका कर्णे सुनारले ऐलानी जग्गा भएकोले बत्तीका लागि मिटर पाउन नसकेको बेलामा सोलार दिएर वडाले ठूलो राहत दिएको बताउनुभयो ।
नयाँबस्तीका प्रायः सबैले मजदुरी गर्छन् । स्थानीयवासी धनबहादुर बिटालुका अनुसार, बस्तीमा केही घरमा मात्रै मिटरबक्स रहेको छ ।
वडा कार्यालयले दिएको सोलारले पाँच वटा बत्ती र एउटा पंखा चल्ने बताइएको छ ।