तपाईलाई थाहा छ, मनमोहन वाटरपार्क ?

नेपालगञ्ज – नेपालगञ्जमा यतिबेला इतिहास मेटाउनु हुँदैन भन्नेहरुको स्वर बाक्लो रहेको छ । चाहे त्यो त्रिभुवनचोक होस् वा वीरेन्द्र चोक या अन्यत्रको ।
हो, इतिहास मेटाउनु हुँदैन । यसमा दुईमत छैन । सन्ततिका लागि पनि जीवित राखिदिनु पर्छ । पछि भएका शहीदहरुको शालिक राख्ने कुरा पनि आएको छ । उनीहरुको छुट्टै ठाउँमा राख्न सकिन्छ । शहीद पार्टीगत हुँदैनन्, सबैलाई ठूलो पार्क बनाएर एकै ठाउँमा राख्न सकिन्छ ।
नयाँ मुलुक, त्यसमा पनि नेपालगञ्जको विकासमा श्री ३ जंगबहादुर राणाको विशेष योगदान रहेको कुरा लुकेको छैन । लखनऊ गदरमा इष्ट इण्डिया कम्पनीलाई साथ दिएर आफै लड्न गएकाले श्री ३ जंगबहादुरले नयाँ मुलुक फिर्ता पाएका थिए । अझ नेपालगञ्जको विकासमा उनको ठूलो चासो थियो भनिन्छ । त्यसैले त उनले सिद्दिमान राजभण्डारी (जो जंगसँग बेलायत यात्रामा गएका थिए) लाई नेपालगञ्जमा पठाएर बस्ती विकास गरेका थिए । एकथरीले कतै जंगको पनि शालिक राख्नु पर्छ भन्ने विचार राखिरहेका छन् । यो विचार पनि नराम्रो होइन, इतिहास बुझाउनका लागि ।
इतिहास बचाउने कुरा गरिरहदा तपाईहरुमध्ये कतिलाई थाहा छ, अहिले सुन्दर बन्दै गइरहेको नेपालगञ्जको वडा नं. १ मा रहेको वाटरपार्कको नाम पहिला मनमोहन वाटरपार्क थियो भन्ने कुरा । अहिलेका नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा नै मेयर रहेको बेला (२०५४ साल) वाटरपार्कको नाम मनमोहन वाटरपार्क राखिएको थियो । त्यतिबेलाका वडा नं. १ का अध्यक्ष डम्बर थापाका अनुसार, २०५४ सालको बोर्ड बैठकले वाटरपार्कको नाम मनमोहन वाटरपार्क राखेको थियो । अहिलेसम्म त्यो नाम परिवर्तन गरिएको छैन । तर, जनजिब्रोमा वाटरपार्कमात्रै पारिएको छ ।
मेयर डा. राणाले त्यतिबेला एमालेबाट चुनाव जितेका थिए । अहिले राप्रपाबाट । वाटरपार्कलाई पुरानै रौनकमा फर्काउने प्रयास हुँदा त्यसको नाम पनि पुरानै मनमोहन वाटरपार्क किन नभन्ने ? प्रश्न उठ्न थालेको छ । २०५४ देखि २०५९ सालसम्म मनमोहन वाटरपार्क मनमोहक थियो, बीचमा फोहोरा, सफा सुन्दर पानी अनि बोटिङ । जब स्थानीय सरकार कामबिहीन भयो । बीस वर्षसम्म चुनाव भएन । अनि मनमोहन वाटरपार्कको हविगत अहिलेको अवस्थामा पुग्यो । त्यसको रेखदेख गर्ने कोही भएनन् ।
अहिले फेरि वाटरपार्कलाई सफा सुन्दर, हरियालीसहित बोटिङको दिशामा अघि बढेको छ । त्यसका लागि वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल लागि परेका छन् । मेयर डा. राणा, उपमेयर उमा थापामगर वाटरपार्कलाई पर्यटकीय गन्तब्य बनाउन लागि परेका छन् । स्थानीय सरकारको चासो रहेकाले फेरि वाटरपार्कको महिमा बढ्नेमा दुईमत छैन तर नाम चाहि मनमोहन वाटरपार्क हुन्छ कि वाटरपार्क मात्रै हुन्छ सर्वत्र चासोको विषय बनेको छ ।


error: यो सुविधा उपलब्ध छैन !