नयाँ गाइडलाइन : लक्षण नदेखिएका संक्रमित घर

नेपालगञ्ज – कोरोना संक्रमणका विषयमा नयाँ ‘गाइडलाइन’ आएको छ । नयाँ गाइडलाइन अनुसार, कोरोना पोजिटिभ देखिएका मानिसमा १४ दिनसम्म कुनै लक्षण देखिएन भने उसलाई घर पठाइनेछ । अब दोस्रो पटक जाँच गरिदैन ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले नयाँ गाइडलाइन अनुसार संक्रमितको रिचेक नगरिने जानकारी दिनुभयो । ‘अहिलेसम्म पोजिटिभ देखिएका व्यक्तिलाई फेरि जाँच गर्ने र नेगेटिभ आएपछि घर पठाउने गरिएको थियो, मेसु डा. थापाले भन्नुभयो, नयाँ गाइडलाइनले १४ दिनभित्र संक्रमितमा कुनै लक्षण देखिएन भने घर पठाइने भनेको छ । अब हामी लक्षण नदेखिएका संक्रमितलाई रिचेक नगरी घर पठाइदिन्छौं ।’
नयाँ गाइडलाइन अनुसार, अब १४ दिन कटेका सबै संक्रमित घर जान पाउँछन् । नेपालगञ्जको डेन्टल अस्पतालमा रहेका २३ जनालाई घर पठाउने तयारी भएको छ । बिहीबार नै उनीहरुको दोस्रो पटक पीसीआर जाँच गर्दा केहीको पोजिटिभ देखिएको छ भने धेरै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
भेरीका मेसु डा. थापाले १४ दिन कटेका संक्रमितको स्वाव नलिन निर्देशन दिइसक्नु भएको छ । १४ दिन कटेकालाई जाँच नगरी घर पठाउने र एक हप्ता होम आइसोलेसनमा बस्न र कुनै लक्षण देखिएमा सम्पर्कमा आउनु भनेर पठाउने तयारी भएको छ । नयाँ गाइडलाइन अनुसार, शुरुवाती चरणमा पोजिटिभ देखिएका सबै जना घर जान पाउने छन् ।


error: यो सुविधा उपलब्ध छैन !