माक्समा कालोबजारी गरेपछि…

नेपालगञ्ज – कोरोनाको महामारीको बेलामा माक्स र थर्माटिरमा कालोबजारी गर्ने दुई वटा फर्म जरिवानामा परेका छन् ।
जिल्ला बजार अनुगमन टोलीले ग्लोबल साइन्टिफिक कर्पोरेशन र नेपालगञ्ज सर्जिकललाई जरिवाना गरेको हो ।
बाणिज्य कार्यालय, नेपालगञ्जका प्रमुख कृष्ण पौडेलका अनुसार, न्यूरोडमा रहेको ग्लोबलले केएन ९५ माक्सलाई पाँच सय प्लस भ्याट र इन्फारेट थर्मामिटर ६ हजार सात सय बढीमा बिक्री गरेको पाइएकाले दुई लाख रुपैया जरिवाना गरिएको छ । बजारमा अहिले अढाई सयदेखि तीन सयसम्ममा केएन ९५ माक्स पाइन्छ । ग्लोबलले तीन सय ७५ रुपैयामा माक्स खरिद गरेको कागजपत्र देखाएको थियो । यही कुरालाई आधार मान्दा पनि उसले ३३ प्रतिशत नाफा खाएको देखिन्छ । कालोबजारी ऐन अनुसार २० प्रतिशत भन्दा बढी नाफा खान पाइदैन । त्यस्तै, ग्लोबलले चार हजारमा पाइने थर्मामिटर ६ हजार सात सय बढीमा बिक्री गरेको पाइएको छ । ग्लोबलले बढी मूल्यमा बेच्नका लागि थप च्यानल खडा गरेको टोलीले फेला पारेको थियो ।
वीपीचोकमा रहेको नेपालगञ्ज सर्जिकलले मूल्य नखुलेको र मूल्य सूची नटाँसेर माक्स, सेनिटाइजर बिक्री गरेको पाइएपछि ६० हजार रुपैया जरिवाना गरेको पौडेलले जानकारी दिनुभयो । अनुगमनमा जिल्ला प्रशासन, औषधी व्यवस्था विभाग, नेपालगञ्ज उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चलगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !