आठ जनाको शव बुझे, चारको बाँकी

नेपालगञ्ज – पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ठुरिया जंगलमा फोर्स गाडी दुर्घटनामा मृत्यु भएका १२ मध्ये आठ जनाका परिवारले शव बुझेका छन् ।
मंगलबार मृतकका आफन्ती आएर शव बुझेका हुन् । गाडी चालक दैलेखका दानबहादुर खड्का, सुर्खेतका कन्डक्टर रितेश कार्की र सहचालक पवन भण्डारी, सल्यानका निमबहादुर ओली, दाङका सीता पुन, पूर्णबहादुर पुन, रामकुमार पुन र हिमान्सु पुनको शव आफन्तीहरु आएर लगेको जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज हृदयेस सापकोटाले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर मृत्यु भएका अन्य चार जनाको आफन्ती आइपुगेका छैनन् । मृतकहरु रोल्पा जिल्लाका हुन् । भीम विक, बुद्धिराम विक र नगेन्द्र विकको नामसम्म खुलेको छ । एकजनाको नाम खुलिसकेको छैन ।
भारतका विभिन्न जिल्लाबाट घर फर्किएका ३३ जना नेपालगञ्जको जमुनाहा नाकाबाट ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा चढेर सल्यान जादै गर्दा आइतबार राती सवा १२ बजे राप्तीसोनारी गाउँपालिका–२ को ठुरिया जंगलमा दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परेको फोर्स गाडीआवद्ध पञ्चकोसी यातायात प्रालि, सुर्खेतले मृतकका आफन्तीलाई जनही १५ हजार रुपैया किरिया खर्च र शवलाई घरसम्म पु¥याइदिने सहमति गरेको छ । जस अनुसार मंगलबार आठ जनाको शव घरतर्फ लगिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !