मोटरसाइकल चलाउदै हुनुहुन्छ ? लकडाउनभरी प्रहरीले लैजाला है !

नेपालगञ्ज – के तपाई मोटरसाइकल, स्कुटी वा गाडी चलाएर काममा हिड्दै हुनुहुन्छ ? कि ११ देखि तीन बजेसम्म सवारी साधन चलाउन पाइन्छ भन्ने मानसिकता बनाउनु भएको छ ?
यदि यस्तो दिमागमा राख्नु भएको छ भने हटाइ हाल्नुस् है ! बाँके प्रहरीले सोमबारदेखि सवारी साधन नियन्त्रणमा लिने र लकडाउनपछि मात्रै दिने रणनीति बनाएको छ । सवारी साधन चल्न पूर्णरुपमा रोक लगाउने रणनीति अपनाएको प्रहरीले सवारी साधन चलाएको पाएमा नियन्त्रणमा लिने र लकडाउन खुलेपछि मात्रै दिने बताएको छ । अहिलेसम्म प्रहरीले सवारी साधनको चाबी थुत्ने र साँझ परेपछि वा भोलीपल्ट दिने गर्दै आएको थियो ।
‘अब सवारी साधन चलाउन पूर्णरुपमा रोक लगाउँछौं, जिप्रका बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले भन्नुभयो, त्यसरी नियन्त्रणमा लिइएको सवारी साधन लकडाउन खुलेपछि मात्रै दिने रणनीति बनाएका छौं ।’
बाँके प्रहरीले अत्यावश्यक काम परेपछि तोकिएको समयमा पैदल नै जान सुझाव दिएको छ । स्थानीय प्रशासनले ११ देखि तीन बजेसम्म अत्यावश्यक सामाग्रीका पसल खुल्ने जनाएको छ । त्यो समयमा पनि सवारी साधन चलाउन नपाउने नियम बनाइएको छ ।
प्रहरीले आइतबार ६३ वटा मोटरसाइकल, ६ वटा ट्याक्टर र ३५ वटा ईरिक्साको चाबी तानेको थियो । यसअघिका पनि प्रहरीले चाबी तान्ने विधि प्रयोगमा ल्याइसकेको छ । यी विधि पनि फेल खाएपछि अब सवारी साधन चलाएको पाइएमा नियन्त्रणमा लिने र लकडाउनपछि मात्रै दिने रणनीति लिइएको हो । अत्यावश्यक काममा हिड्नेहरुलाई भने छुट दिइनेछ ।


error: यो सुविधा उपलब्ध छैन !