समपुरक र विशेष बजेट खोइ ?

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-७८ को वजेटमा समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा नेपालगञ्ज उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले समपूरक र विशेष अनुदान शिर्षकमा वजेट विनियोजनका लागि केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।
बैठकले नेपालगञ्जको त्रिभुवनचोकमा स्तम्भ निर्माण गरि राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जको धम्बोझीमा वाटरपार्क छिट्टै सञ्चालनमा आउने भएको छ । कार्यपालिका बैठकले वाटरपार्क संचालनका लागि ठेक्का आव्हान गर्ने निर्णय गरेको प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष रिजालले बताउनुभयो । बैठकले फोहोरमैला ब्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरि थालनी गर्ने र गोबरग्याँसमा अनुदान दिने निर्णय समेत गरेको बैठकपछि उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
उपमहानगरपालिकामा दरबन्दी भन्दा बढि कर्मचारी भएको सम्बन्धमा पुनरावलोकन गरि बढि भएका कर्मचारीलाई रमाना दिने निर्णय बैठकले गरेको छ । यसैगरी बैठकले राजश्व शाखा सुचारु गर्ने निर्णय गरेको छ । बैठकले वडा नम्बर २० मा खानेपानी आयोजनाको काम अघि बढाउने निर्णय समेत गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !