स्वाव नै संकलन नभएको ठाउँमा कोरोना ?

नेपालगञ्ज – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नं. ५ मा चार जना पुरुषमा कोरोना पुष्टि भएको विवरण बाहिर ल्यायो । आधिकारिक लेटरप्याडमा कामु रजिष्टार कैलाशप्रसाद देवको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा राप्तीसोनारीको नारायणपुर, भवनपुर माविमा स्वाव संकलन गरिएकोमा २४, २३, २३, १६ वर्षको पुरुषमा कोरोना पुष्टि भएको बताइयो ।
समाचार छापिएपछि राप्तीसोनारीका स्थानीयदेखि जनप्रतिनिधिले वडा नं. ५ मा नारायणपुर, भवनपुर मावि नरहेको र त्यहाँ स्वाव नै संकलन नभएको प्रतिक्रिया दिए ।
स्थानीय व्यक्ति र जनप्रतिनिधिले समेत राप्तीसोनारीको वडा नं. ५ मा नारायणपुर, भवनपुर मावि छैन, त्यहाँ स्वाव नै संकलन भएको छैन भनिरहदा आखिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पुष्टि गरेको चार जना कहाँका हुन् त ? प्रश्न उब्जिएको मात्रै छैन, त्यो विज्ञप्तीले अन्यौल नै बढाएको छ ।
कोरोना पुष्टि भएपछि उनीहरुलाई त्यही दिन नै आइसोलेसन सेन्टरमा ल्याउने गरिन्थ्यो । नारायणपुर भवनपुर भन्ने स्थान नै नभएपछि त्यसो गर्न सकिएको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले राप्तीसोनारी वडा नं. ५ बाट स्वाव संकलन नभएकाले त्यो आएको रिपोर्ट कहाँको हो भनेर बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !