प्रहरीलाई पनि देखियो कोरोना
नेपालगञ्ज – बाँकेमा प्रहरीलाई पनि कोरोना लागेको छ ।
नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको बाँके प्रहरीले बताएको छ ।
प्रहरी जवानलाई नेपालगञ्ज ल्याउने तयारी भएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले प्रहरी जवानलाई कोरोना देखिने बित्तिकै चौकी सील गरेको जानकारी दिनुभयो । ‘कोरोना देखिएकालाई नेपालगञ्ज ल्याउदै छौं, प्रवक्ता सिंहले भन्नुभयो, चौकी सील गरेर अरुलाई क्वारेन्टाइनमा राख्छौं । उनीहरुको भोली नै पीसीआर जाँच गर्छौ ।’
बाँकेमा प्रहरीलाई पहिलोपल्ट देखिएको हो । दुई दिनअघि मात्रै जिल्लाका ६० जना प्रहरीको स्वाव लिइएको छ ।
यसैबीच, नरैनापुरमा कोरोना देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा राख्ने तयारी भएको छ । त्यहाँ ४० बेडको आइसोलेसन सेन्टर तयार पारिएको छ । नरैनापुरबाट हिजो ल्याइएको १३ जनालाई पनि त्यही राख्ने तयारी भएको छ ।