क्वारेन्टाइनमै सबैसँग बसे ‘संक्रमितहरु’

नेपालगञ्ज – बाँकेको नरैनापुरमा सोमबार ५९ जना कोरोना संक्रमित पुष्टि भयो । राती सवा दश बजे १२ जनाको पुष्टि गर्नु अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह सवा चार बजे ४७ जना संक्रमित घोषणा गरिसकेको थियो ।
आइतबार एकजना (मृतक) र केही दिनअघि आठ जना नरैनापुरमा संक्रमित फेला परिसकेको छ । सबै जोड्दा ६८ जना नरैनापुरको मात्रै कोरोनाका बिरामी भए । नेपालगञ्जको २५ जना जोड्दा जिल्लामा संक्रमितको संख्या ९३ जना पुगेको छ । त्यसमा एकजना मृत्यु भइसकेकाले ९२ जना जीवित नै छन् । सोमबार अधिक बिरामी देखिदा बाँके जिल्ला कोरोनाका बिरामी देखिनेमा देशभरमै प्रथम स्थानमा पुगेको छ ।
नरैनापुरमा आइतबार स्वाव लिइएका ११ जनाको रिपोर्ट आइसकेको छैन । यी एघार जना पनि २ सय ६३ जनासँगै ‘ट्रेसिङ‘मा परेका हुन् । यहाँबाट सोमबार थप ९६ जनाको स्वाव लिइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नरैनापुरमा लिइएको २ सय ६३ जनाको स्वावमा ६० जना (एकजना मृतक) मा संक्रमण देखिएको बताउनु भयो । उहाँले आइतबार एघार र सोमबार लिइएको ९६ जना गरी एक सय सात जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो ।
एकै दिन धेरै बिरामी देखिएपछि उनीहरुलाई कहाँ राख्ने तनाव सिर्जना भएको छ । नरैनापुर गाउँपालिकाकै लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितलाई राख्ने निर्णय गरिएपनि त्यहाँ आवश्यक तयारी गर्न नभ्याउदा संक्रमितहरु सोमबार क्वारेन्टाइनमै बसेका छन् । बिरामी र बिरामी नभएकाहरु एउटै क्वारेन्टाइनमा सराबरी बसेका हुन् । अपरान्ह सवा चार बजे पुष्टि गरिएका ४७ जनालाई संक्रमण देखिएको जानकारीसम्म दिइएपनि राती देखिएकाहरु अनविज्ञ नै थिए । आइसोलेसन कक्षको तयारी हुन नसक्दा संक्रमितलाई बिरामी नभएकासँगै राख्नु परेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेडहरु राखेर संक्रमितलाई राख्ने तयारी भएको बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको भवन आकर्षित भएपनि भित्री पूर्वाधार छैन । आइसोलेसन कक्ष भनेपनि भेन्टिलेटरको सुविधा टाढाको कुरा भएको छ । अधिकारीहरुले सबैको व्यवस्थापन हुँदै गरेको बताएका छन् ।
नरैनापुर गाउँपालिकामै अझै ठूलो संख्याका मानिसहरु क्वारेन्टाइनमा छन् । उनीहरुको पीसीआर जाँच हुन सकेको छैन । जुन पालिकाका बिरामी देखिन्छन्, त्यही पालिकामा आइसोलेसन कक्ष बनाएर राख्ने नीति अघि सारिएपनि नरैनापुरको काम सन्तोषजनक हुन सकेको छैन । (देशसञ्चारबाट)


error: यो सुविधा उपलब्ध छैन !