म मौनतामा प्रेम गर्छु, तिमी देखाउन खोज्छौ

धीरे धीरे रे मना, धीरे सब कुछ होय,
माली सींचे सौ घडा, ऋतु आए फल होए ।
कबीरको यो दोहाले भने झैं एक जना मालीले एउटा बोटमा सयौं घडा पानीले सिंचित गरे पनि फल त उसको समय आएपछि नै फल्नेछ । सायद मानिसको जीवनमा पनि हरेक काम र कुरा समय आएपछि नै हुने गर्छ ।
कोरोना कहरको तेस्रो शहर नेपालगञ्जबाट मौनताको आह्वान ! राज्यका संयन्त्रले सकेजति काम गरुन् अनि नागरिकले सरकारका राम्रा कामलाई समर्थन गरुन् । स्वास्थ्यको विषयमा सबै सम्वेदशनील रहौं । एक अर्काबीचको भौतिक दूरी चाहे त्यो लोनलीनेस किन नहोस् कायम गर्ने प्रयास गरौं ।
हामी आफ्ना आँखाले अरु सबै देख्न सक्छौ सिवाय आफ्नै आँखा । त्यसैले जे आफ्नो आसपास छ त्यो सहज रुपमा बुझ्न कठिन हुन्छ तर बुझ्न सक्नुपर्छ । अक्सर मानिस आफ्नो नजिकको सबै कुरा विर्सने गर्छ । कतिपय कुरा हामी अन्जानमा गरि रहेका हुन्छौं तर त्यसको मालिक आँफुलाई ठान्दछौं, वास्तवमा त्यो मालिक हुँदैन गुलाम हुन्छ । हामी यतिबेला गुलाम बन्न खोजिरहेका छौं जस्तो लाग्छ, कारण एउटै हो जे नगर्नु पर्ने हो त्यो, अर्थात एक अर्काबीचको भौतिक दूरी सोसल डिस्टेन्सिङलाई पूर्णतया पालन गरिरहेका छैनौं ।
जीन्दगीको यो बाटो कहिल्यै यति भयभित भएन होला सायद । २१ औं शताब्दिमा आएर मानिस, मानिसदेखि दूरी बनाउन बाध्य छ । अहिले मानिसलाई यदि कसैको डर छ भने त्यो हो मानिस कै । जुन कृत्य मुर्छितबाट हुन्छ त्यो पाप हो, अनि जुन कृत्य जागृतबाट शुरु हुन्छ त्यो नै पुण्य हो । ओशोले भनेका यी वचनलाई म अक्सर सम्झने गर्छु अनि हाम्रो समाजलाई बुझ्ने कोशिस पनि गर्छु । र आँफैलाई पनि । तर महामारीलाई बुझ्नु र सम्झनु भन्दा बच्नु पर्छ, यो जोगिने बेला हो, सकेसम्म अरुलाई पनि जोगाउने प्रयास गरौं । आँफु आँफु जोगिए सबै जोगिन्छौं ।
सबैका आ–आफ्नै बाध्यता र समस्या छन् नै । खान लाउन नपुग्नु विडम्बना झैं छ । बाँकी कुरा हामी स्वयं बुझन सक्ने पनि छौं । आजकाल यसै दिन विताइरहँदा आँफुलाई न त मुर्छित पाउँछु न त जागृत नै । कहाँ जाँदैछु, किन जाँदैछु ? थाह छैन,म को हुँ ?
हुन त हरेक बालक जन्मिदैं एउटा साम्राज्य बोकेर आएको हुन्छ अनि एक जना वृद्ध दुःखका गाथा बोकेर जाँदै हुन्छन् । चाहे दुःखको गाथा होस् या जिन्दगी सुखको गीत होस् तर जीन्दगी त जीन्दगी हो नि है । एउटा जिन्दगी बेहोसी झैं छ भिडमा हिंडिरहेको ब्यक्ति । अर्को जिन्दगी छ होसमा, प्रत्येक कृत्य सुनियोजित र सुविचारीत हुन्छन, जागरण हुन्छ । अचेतन होइन अँध्यारोमा होइन, । बेहोसीबाट निस्कने कृत्य पाप हो अनि संसार त्यसलाई पुण्य नै किन नठानोस । दान दिएर पुण्य गर्नेहरु अचेतनबाट दान दिन्छन् भने त्यो कतै पुण्यको काम होइन । दान यदि अरुलाई देखाउन अहंकारबाट आएको छ भने त्यो त झनै पाप हो । दान दिने कुरा कसैको आदत हो भने त्यो पनि मुर्छाबाट गरेको हुन सक्छ । कसैको पीडा र समस्यालाई नजानेरै सहयोग गर्नु पुण्य हुनै सक्दैन । ओशोले पटक पटक यस्तै भनेका थिए । राज्यले यतिबेला दिएको राहत सकिन थाल्यो, जनताको वर्ग फरक छ भन्ने पनि थाह छ सरकारलाई, तर मलाई राज्यले नागरिकको दर्जा दिंदैं दुई छाक खान नपाउने अवस्थामा कसैलाई नमारोस् भन्ने लाग्छ । म गलत छु या सहि छु जे छु यस्तै छु । त्यसैले सकेसम्म मौन छु ।
जीवनलाई हामी खोजिरहेका छौं, फेरी जीवनले हामीलाई खोजिरहेको हुन्छ भन्ने पनि ठान्छौं । वास्तवमा जीवन खोज्नु पर्ने नै छैन, यो यसै पनि पाइएको विषय हो ।
जीवन खोज्न कहाँ कहाँ भडकिन्छ मानिस ? सत्य त के हो भने, जहाँ गएपनि जानु नै गलत हो, मुल कुरा त जानु नै गलत हो, आउनु सहि र सत्य हो ।
अब मीराले जस्तो गोविन्द गोपाल गाउन सक्नु पर्छ,
एैसे लागी लगन मीरा होगई मगनं…….
मीराको जस्तो भक्ति, प्रेम र भजन साँच्चिकै अदभुत थिइन् उनी ।
समय ब्यतित गर्न कबीरका कविताले झनै छुन्छन्, कबीर निरक्षर थिए । तर कर्म गर्न उनलाई कसैले रोक्न सकेनन् न त उनको काव्यलाई कसैले रोक्यो । औपचारिक शिक्षाको कुनै गुञ्जायस थिएन उनलाई । कबीरका दोहा अहिले पनि काल झैं लाग्छन् ।
कहिलेकाहीं जेम्स ब्लण्टको गीत
डिड आई डिसप्वाइन्ट यू अर यू लेट यू डाउन
गुडबाई माई लभर,
गुडबाई माई फ्रेण्ड
यू ह्याभविन द वान
यू ह्याभविन द वान फर मी…….
सुनिरहँदा मन एक्कासी मीराको भजन तर्फ आकर्षित हुन्छन् । कहाँ मीराका भजन कहाँ मानिसले गाएका गीत । यी पनि जिउने कला थिए सायद ।
मलाई कहिलेकाहीं लाग्छ मानिसहरु जिउने कला त सिक्छन् तर मर्ने कला सिक्दैनन् । बुद्ध धर्म मान्ने तिब्बती लामा भिक्षुहरुमाझ एउटा कला देखिन्छ, त्यो हो फोवा अभ्यास । हामी पनि यो अभ्यासलाई दैनिक जीवनसँग जोडौं अनि हरपल आनन्दित भएर बाँचौं र मर्न पनि सिकौं ।
भन्छन नि मस्त मौलाना !!
हामी मर्नदेखि यति भयभित छौं की त्यस अघिको पीडाले हामी पटक–पटक मरेर पनि बाँचि नै रहेका हुन्छौं । मानिस वाह्य संसारमा असफल रहनेहरु भित्री संसारमा पनि असफल हुन्छन् भन्ने हुँदैन । भित्री जीवनको रहस्यका लागी योग साधना र ध्यानको अभ्यास गर्नुपर्छ । वाह्य दुनियाको त अन्त्य छ र पनि अन्त्य नभए झैं चलिरहन्छ । त्यसैले भित्री जीवनको महत्व बुझ्नु पर्छ । तर बुझ्नु पर्ने कुरा के भने के कुराले भित्री जीन्दगीसम्म पुग्न सकिन्छ भनेर । जो बाह्य रुपमा असफल भएकाहरु भन्दा भित्री जीवनबाट हरेस खाएकाहरु निकै कमजोर हुन्छन् । वाह्य जगतसँग जुडिएका हामीहरु भाषा र वाणी नभएको कल्पना गरौं त । मुखरता जगतसँग जोड्ने गर्छ, मौनताले जगतसँग तोड्छ । जो ब्यक्ति भित्री जीवनसँग जोडिन चाहन्छ उसले मौनता रोज्नु पर्छ । यो एउटा कला हो, रहस्य पनि हो । समाधी योगको पहिलो शर्त पनि मौनता हो । मौनताले कतिपय तनाव त्यसै हराएर जान्छन् । कतिपय तनाव आउन नै दिंदैन ।
बलवान समय होइन, हाम्रो मन हो । जो आँफैसँग भएर पनि दूरी कायम गर्छ । त्यसैले मौनता रोज्दछु म । सबैखाले समस्याको समाधान मौनताबाट खोज्न सकिन्छ । यो मेरो विश्यास हो । बेलाले यसलाई पुष्टि गर्दै जाला पनि । इच्छा, चाहना र आकाक्षांबीच पनि मौनता धारण गर्न सक्नु सबैभन्दा ठूलो जीवनको उपलब्धि हो ।
म त एउटा यात्री न हुँ, सायद तपाई पनि बटुवा होला फरक यति छ म मौन मस्त छु, तपाई छटपटिमा यत्रतत्र ठोकिनुहुन्छ । सिद्धहस्तीहरु, महापुरुषहरु पे्रम पनि मौन भएर गर्न सकिन्छ भन्छन्, तपाई हामी प्रेमलाई देखाउन खोज्दछौं । हो यही फरक छ । कोशिस गरौं त मौन रहने ।
वास्तवमा मृत्यु नै शास्वत सत्य हो । हामी भागेर कहाँ जान सक्छौं, जति सक्यो घटनालाई सहज रुपमा स्विकार्नु र मौन रहनुले ब्यक्तिको शान्त मृत्युवरण हुनसक्छ ।
आज म कोरोनो कहर देखिएको शहर नेपालगञ्जबाट मौनताको आह्वान गर्छु !
अनावश्यक सूचनाले तनाव पैदा गराउँछ, सामाजिक सञ्जाल प्यानिक हुँदै गइरेहका देखिन्छन् । सरलतालाई जटिलता बनाउने कुनै पनि खाले सूचना दैनिक जीवन निर्वाहका लागी हानीकारक छन् ।


error: यो सुविधा उपलब्ध छैन !