टाढै बसेर रोइरहे ‘आफन्ती’

नेपालगञ्ज – विहान गाउँमा हल्ला फैलियो, क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भयो । छिनभरमै हल्ला नयाँबस्तीमा पुग्यो । मृतक युवाको घर थियो, त्यो नयाँबस्ती ।
गाउँबाट मान्छे आउँदै गए । नरैनापुर गाउँपालिका वडा नं. ५ मा रहेको दिपेन्द्र मावि, भोजभगवानपुरमा ठूलो संख्या जम्मा भयो । भीड नै लाग्यो । क्वारेन्टाइनमा रहेका मानिसले उचित रेखदेख हुन नसकेकाले मृत्यु भएको भन्दै थिए । समयमा उपचार गर्न नलगिएको आक्रोश पोखिरहेका थिए । कतिपयले आफूहरुलाई केही नभएकाले घर जान दिन माग गरिरहेका थिए ।
ठूलो संख्यामा सुरक्षाकर्मी पुग्नु अघि क्वारेन्टाइनभित्र र बाहिर रहेका मानिसको आक्रोश ‘आन्दोलन’मा मोडिने खतरा बढेको थियो । आसपाससँगै नेपालगञ्जबाट थप प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयहरु तितरबितर गरिएको थियो ।
कोरोनाको आशंका गरिएको, स्वाव लिइएको र रिपोर्ट आइनपुगेकाले स्कूल आसपासमा डरत्रास थियो । कोही नजिक जान सकेका थिएनन् । मृतकका बुवा, आमा टाढैबाट छोराको शव हेर्दै रोइरहेका थिए । घटनास्थलमा पुगेका पत्रकार जे. पाण्डेका अनुसार, मृतकका बुवा छिन छिनमै बेहोस् भइरहेका थिए । आमा टाढै बसेर रोइरहेकी थिइन् ।
गाउँमा डर त्रासको वातावरण थियो । अपरान्ह साढे चार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्दा युवकमा पोजिटिभ देखियो । वातावरण झन् डरलाग्दो भयो । मृतकको शवलाई व्यवस्थापन गर्न नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी लागि परेका छन् । बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले सुरक्षा निकायको व्यवस्थापनमा घरपरिवारको उपस्थिति धार्मिक संस्कार अनुसार अन्त्येष्टी गरिने बताउनुभयो । ‘शवलाई घरमा लैजान पाइदैन । सुरक्षा निकायको सबै व्यवस्था मिलाउँछ । घरपरिवारका सदस्यले अलिकति परैबाट आफ्नो संस्कार अनुसार अन्त्येष्टी गर्छन्, एसपी ओलीले भन्नुभयो, शवको आज नै अन्त्येष्टी हुन्छ ।’


घटनास्थल नेपालगञ्जदेखि ३५ किलोमिटर हाराहारीमा टाढा पर्छ । जिल्लाको यो पूर्वी नाकाबाट केही दिनयतामा ६ सय बढी मानिसहरु भित्रिएका छन् । यसअघि नै आठ जनामा कोरोना देखिसकेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टीमले मृतक युवासहित २ सय ६३ जनाको शनिबार मात्रै स्वाव लिएको थियो । स्वास्थ्य कार्यालयका अधिकृत एवं कोेरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २ सय ६३ मध्येमा दिपेन्द्र माविबाट मृतक युवासहित ३९ जनाको शव लिइएको थियो । स्वाव लिने बेलासम्म युवा नर्मल थिए । केही भएको थिएन । एक्कासी राती वान्ता हुँदै उच्च ज्वरो आएपछि बेहोस् भएका थिए । त्यसपछि उनी उठेनन् ।
मृतकमा युवामा कोरोना देखिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सिन्धुपाल्चोककी महिलाको मृत्यु भएको थियो । सीमावर्ती जिल्ला भएकाले बाँकेमा उच्च जोखिममा देखिएको छ । जिल्लामा अहिलेसम्म ३६ जनामा कोरोना देखिंदा एक जनाको मृत्यु भएको छ । पछिल्लो समयमा भारतबाट फर्किएका एक हजार एक सय २६ जनाको कोरोना परीक्षण गर्ने क्रम चलिरहेको छ । भारतबाट अझै आउने क्रम भने रोकिएको छैन । (देशसञ्चारबाट)


error: यो सुविधा उपलब्ध छैन !