४१ क्वारेन्टाइन, एघार सय २६ को बसोबास
नेपालगञ्ज – भारतबाट फर्किने नेपालीको चाप बढ्दै गएपछि पालिकाहरुले क्वारेन्टाइन बढाएका छन् । बाँकेमा अहिले ४१ वटा क्वारेन्टाइन पुगेको छ ।
त्यसो त सरकारले एक पालिकामा एक हजार क्षमताको क्वारेन्टाइन बनाउन निर्देशन दिइसकेको छ । जिल्लामा हाल ४१ वटा क्वारेन्टाइनमा एक हजार एक सय २६ जना बसिरहेका छन् । त्यहाँ बस्नेमा एक हजार ७३ पुरुष र ५३ महिला छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, सबैभन्दा धेरै ११ वटा क्वारेन्टाइन नरैनापुर गाउँपालिकामा बनाइएको छ । त्यहाँ ६ सय २६ जना बसिरहेका छन् । यो पालिकामा अहिलेसम्म आठ जना कोरोना संक्रमित फेला परिसकेको छ ।
डुडुवा गाउँपालिकामा पाँच वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ एक सय ६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सात÷सात वटा क्वारेन्टाइन छन् । खजुरामा २४ र बैजनाथमा ३० जना क्वारेन्टाइनमा छन् । राप्तीसोनारी गाउँपालिकामा चार वटा क्वारेन्टाइनमा ३९ जना, नेपालगञ्ज उपमहानगरपालिकामा दुई वटा क्वारेन्टाइनमा एक सय १९, कोहलपुर नगरपालिकामा दुई वटा क्वारेन्टाइनमा २३ जना, जानकी गाउँपालिकामा दुई वटा क्वारेन्टाइनमा २३ जना र नेपाल आर्मीले बनाएको एउटा क्वारेन्टाइनमा ७४ जना बसिरहेका छन् ।
बाँके सीमावर्ती जिल्ला भएकाले भारतमा रहेकाहरु छोटी नाकाबाट फर्किरहेका छन् । भारतका विभिन्न शहरबाट फर्किने नेपालीले गर्दा गाउँघरमा जोखिम बढाएको छ ।