पसले उच्च जोखिममा
नेपालगञ्ज – २३ जना संक्रमितको ‘यात्रा विवरण’ लिइसकेपछि नेपालगञ्जमा स्वाव संकलनलाई तिब्रता दिइएको छ ।
संक्रमितको ‘टच’मा धेरै जना रहेको पाइएको छ । संक्रमितहरु पान, किराना, औषधीपसलदेखि दैनिक तरकारी लिन रानीतलाउस्थित तरकारी मण्डीमा पुगेको देखिएको छ । प्रहरी र स्वास्थ्यकर्मीले संक्रमितको यात्रा विवरण लिइसकेपछि स्वाव लिने काम भएको हो । ‘केहीको नाम नै किटेर दिइएको छ, बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले भन्नुभयो, २२ जना संक्रमित देखिएको वडा नं. ८ को सबैलाई जाँच गर्नुपर्ने देखिन्छ ।’
नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालयको टीमले वडाध्यक्ष र प्रहरीको सहयोगमा स्वाव लिइरहेको छ । वडा नं. ८ को वडा कार्यालय नजिक बसेर स्वाव लिने काम भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । ‘७०÷८० जनाको नाम आएको छ । स्वाव लिन शुरु गरेका छौं, चन्दले भन्नुभयो, हिजो वडा नं. ८ कै महेन्द्र पार्क नजिकबाट ५६ जनाको स्वाव लिएका थियौ । आज वडा कार्यालयतिर बसेर स्वाव लिइरहेका छौं ।’
पहिलो चरणमा वडा नं. ८ का सबै जनाको स्वाव परीक्षण गर्ने तयारी भएको छ । वडाध्यक्ष सुरेन्द्र गुप्ता त्यसमा लागि परेका छन् । नेपालगञ्जमा पछिल्लो पटक २ सय ५० किट आइपुगेको छ । थपका लागि पहल भइरहेको छ । नेपालगञ्जको वडा नं. ८ मा मात्रै चार हजार जनसंख्या छन् । एउटै वडामा २२ जना संक्रमित देखिएको उनीहरुको आवतजावत वडाभित्र मात्रै होइन आसपासमा पनि गएको देखिएको छ । यद्यपि, अहिले वडा नं. ८ का सिधा सम्पर्क भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।