५६ जनाको स्वाव संकलन

नेपालगञ्ज – कोरोना संक्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाव लिइएको छ ।
खजुरास्थित आइसोलेसन अस्पतालमा राखिएका संक्रमितले भने अनुसार उनीहरुको सम्पर्कमा रहेका ५६ जनाको स्वाव लिइएको हो । स्वास्थ्यकर्मीले मंगलबार महेन्द्र पार्क अगाडि राती अबेरसम्म बसेर ५६ जनाको स्वाव लिएका हुन् ।
जोलाहनपुरुवा भन्ने एउटै टोलबाट २२ जना (एकजना अर्को टोलका) संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा रहेका आसपासका टोलका मानिसको स्वाव लिइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जोलाहनपुरुवा आसपासका चार वटा टोलबाट स्वाव लिइएको बताउनुभयो । ७१ जनाको स्वाव लिने तयारीका साथ महेन्द्र पार्क अगाडि पुगेको स्वास्थ्यकर्मीको टोलीले ५६ जनाको स्वाव लिन भ्याएको थियो । राती अबेर भएपछि स–साना बालबालिका घर गएका थिए । बाँकी १५ जनाको बुधबार स्वाव लिइने श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार राती संकलन गरिएको स्वावलाई बुधबार परीक्षण गरिने छ । बुधबार नै १५ जनासहित अरुको पनि स्वाव लिइने तयारी भएको छ । १९ गते ६० वर्षीय एक जनामा संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा २२ जना संक्रमित फेला परेका थिए । अहिले त्यही २३ जनाको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गर्दै स्वाव लिने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !