नेपालगञ्जमा सात जना संक्रमित थपिए

नेपालगञ्ज – नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ । देशभरमा ८२ पुगेको छ ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाका अनुसार नौ वर्षीया बालिकसहित चार महिला र तीन पुरुषमा कोरोना देखिएको छ । यी सात जना पनि यसअघि १५ जना संक्रमित देखिएका नेपालगञ्ज वडा नं. ८ का बासिन्दा हुन् । पहिलो संक्रमित ६० वर्षीय पुरुष नेपालगञ्ज वडा नं. ७ का भएपनि यी सबै उनकै सम्पर्कमा रहेका व्यक्तिहरु हुन् । ६० वर्षीय मदरसाका शिक्षक वडा नं. ८ को मस्जिद र मदरसामा दैनिक जाने गर्दथे ।
६० वर्षीय पहिलो संक्रमितको सम्पर्कमा रहेका ९४ जनाको स्वाव संकलन गरिएको थियो । त्यसमा २२ जनामा संक्रमण देखिएको मेसु डा. थापाले बताउनुभयो । अस्पतालबाट शुरुमा ३० जनाको रिपोर्ट आउदा ९ जना, २५ जनाको रिपोर्ट आउदा ६ जना र ३९ जनाको रिपोर्ट आउदा ७ जनामा संक्रमण देखिएको छ ।
कोरोना संक्रमित १६ जनालाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ । थप ७ जनालाई पनि त्यही लैजाने तयारी भएको छ । बाँके प्रहरीले ६० वर्षीय संक्रमित र उनले सारेका अन्य २२ जना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको छ । संक्रमितहरुसँग भिडियो कल गर्दै डिटेल बुझ्ने काम भइरहेको छ ।
नेपालगञ्जको एउटै वडामा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले आज विहान ११ बजेदेखि २५ गते रातीसम्म नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरेको छ । कोहीलाई पनि घर बाहिर निस्किन नदिने र यो बीचमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरेर उसको स्वाव लिने बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !