तीन दिन घरभित्रै

नेपालगञ्ज – नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
नेपालगञ्जमा एकाएक १६ जनामा कोरोना संक्रमण देखिएपछि सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको बताउनुभयो । ‘मंगलबार (२३ गते) विहान ११ बजेदेखि २५ गते मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरेका छौं, प्रजिअ खड्काले भन्नुभयो, यो बेलामा कोहीलाई घरबाट बाहिर निस्किन दिदैनौ ।’
सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्रसँगै तरकारी मण्डी अर्को निर्णय नभएसम्म बन्द गर्ने, पालिका, टोलले मान्छेलाई आवतजावत गर्न नपाउने गरी तंगारो राख्न नपाउने र त्यस्तो गर्नेलाई कारबाही गर्ने, सामाजिक सञ्जालमा धार्मिक, जातीय सद्भाव भड्काउने कुरा लेखेमा कारबाही गर्ने, कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको नेकपाका जिल्ला अध्यक्ष आइपी खरेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी खड्काको अध्यक्षतामा भएको बैठकमा कांग्रेसका किरण कोइराला जनता समाजवादी पार्टीका कमरुद्दिन राइन, राप्रपाका नरेन्द्र पौडेललगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नेपालगञ्जको वडा नं. ८ मा मात्रै संक्रमित देखिएका छन् । १९ गते संक्रमित देखिएका व्यक्तिको सम्पर्कमा रहेकाको स्वाव परीक्षण भइरहेको छ । उनको र उनले संक्रमित बनाएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको पनि खोजी भइरहेको छ । वडा नं. ८ को जुलाहनपुरुवा टोलका सबैलाई परीक्षण गर्नुपर्ने अधिकारीहरुले बताएका छन् ।
स्थानीय प्रशासनले नेपालगञ्ज नगरलाई निषेधित क्षेत्र घोषणा गर्नुअघि नै आसपासका पालिकाहरुले नेपालगञ्जबाट जाने र आउने गतिविधि रोकेका छन् । कतिपय नगरका वडाले पनि अर्को वडासँगको सम्बन्ध टुटाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !