नेपालगञ्जसँग ‘दुरी’ !

नेपालगञ्ज – एकै दिन १५ सहित १६ जना कोरोना संक्रमित देखिएपछि छिमेकी पालिकाहरुले नेपालगञ्जसँग दुरी बढाएका छन् ।
जानकी, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिकाले नेपालगञ्जतर्फका नाका सील गरेर केही समयका लागि नेपालगञ्जसँग दुरी बढाएका हुन् । यी पालिकाहरुले आफ्नो चारै दिशामा कडाई गर्दै नेपालगञ्जसँग आवतजावत रोक्ने जनाएका छन् ।
यी पालिकाका कतिपय ठाउँमा सडकमै तंगारो राखिएका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले अत्यावश्यक कामले नेपालगञ्ज आउने व्यक्तिलाई समेत रोकिएको भन्दै आफूलाई फोन आएको जानकारी दिनुभयो । ‘कोहलपुरबाट भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत चिकित्सकलाई समेत रोकियो भन्ने खबर आएको छ । एम्बुलेन्स रोकियो भनेर फोन आएको छ, प्रवक्ता सिंहले भन्नुभयो, हामीले बुझ्दैछौं ।’
पालिकाहरुले अत्यावश्यक कामबाहेक आवतजावत रोक्ने बताएका छन् । नेपालगञ्जतिरबाट तरकारीलगायत खाद्य बस्तुलाई प्रवेश नदिने बताएका छन् । पालिकाहरुले मात्रै नेपालगञ्जभित्रकै वडाहरुमा पनि यस्तो दुरी बढाउने काम भइरहेको छ । आफ्नो वडालाई सुरक्षित गराउन बाहिरका मान्छेलाई प्रवेशमा कडाई गरिदैछ । यद्यपि, केही ठाउँमा देखिएको सडकमै तंगारो बनाएर बाटो छेक्नु कत्तिको कानून संगत हुन्छ त्यसमा प्रश्न उब्जिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !