छोरालाई लगेको प्रहरीको गाडीमा बुवा झुण्डिएपछि…

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले ११ बजेदेखि निषेधित क्षेत्र घोषणा गरिसकेको थियो । त्यही निर्णयमा रानीतलाउस्थित तरकारी मण्डीलाई मंगलबार ११ बजेपछि अनिश्चितकालका लागि बन्द गर्ने भनिएको थियो । मण्डी बन्द हुन्छ भनेपछि ११ बजे अघि त्यस आसपासमा भीडभाड थियो ।
त्यो भीडभाडको फोटो सामाजिक सञ्जालमा राखेर प्रहरीको आलोचना भएपछि वडा प्रहरी कार्यालयका इन्चार्ज हरि बस्नेतको टोली बाहिर निस्कियो । प्रहरीको टोली रानीतलाउदेखि भीडलाई तितरबितर गर्दै त्रिवेणीमोडसम्म आइपुग्यो ।
एसपी बीरबहादुर ओलीका अनुसार, त्रिवेणीमोडमा आइपुग्दा केही व्यक्तिले प्रहरीसँग विवाद गरे । ११ बजेपछि निषेधित क्षेत्र भनिएको छ जस्ता कुरा भयो । सामान्य कुराकानी चर्कोस्वरमा हुन थाल्यो । विवाद हुँदै हात हालाहालसम्म पुग्यो । प्रहरीले रवि गुप्तालाई समातेर गाडीमा हाल्यो । रविका बुवाले ‘मलाई पनि लैजाऊ’ भन्दै गाडीलाई समाते । प्रहरीको गाडी अगाडि बढ्दा उनलाई लता¥यो । घुडा, कुइना, मुखमालगायत धसारियो ।
त्यहीबेला जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको बा १ झ ८२८४ नम्बरको गाडीमा प्रहरीहरु निषेधित क्षेत्रको सूचना दिने माइकिङ गर्दै आए । एकजनालाई प्रहरीले समातेर लगेपछि आक्रोशित स्थानीयले त्यो गाडीमा ढुंगा हाने । शिशा फुटाइदिए । साउण्डसिस्टम तोडफोड गरिदिए । प्रहरीमाथि नै आक्रमण भएपछि जिल्लाबाट डीएसपी शिवबहादुर सिंहको नेतृत्वमा टोली पुग्यो । आक्रोश शान्त पार्ने काम भयो । प्रहरीले रविका बुवालाई उपचार गर्न पठायो । रविलाई प्रहरीले वडा प्रहरी कार्यालयमा राखेको छ ।
प्रहरीले भीडभाड तितर बितर गर्दै आउदा खुलेका पसल पनि बन्द गरेको थियो । स्थानीयले ११ बजेसम्म खाद्यान्न पसल खोल्न पाउने भन्दा विवाद भएको प्रत्यक्षदर्शीले बताए । एक किराना पसलमा केही मान्छे देखिएपछि हटाउन भन्दा विवाद भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !