६६ प्रतिशत नाफा खाएर थर्ममिटर बिक्री गरेपछि….

नेपालगञ्ज – नेपालगञ्जको लाइफकेयर सर्जिकललाई दुई लाख रुपैया जरिवाना गरिएको छ ।
संयुक्त बजार अनुगमन समितिले इन्फारेट थर्ममिटर बढी मूल्यमा बिक्री गरेको आरोपमा लाइफकेयरलाई जरिवाना गरेको हो । ६ हजारमा किनेको थर्ममिटर दश हजार रुपैयासम्ममा बिक्री गरेको फेला परेको थियो । खरिद मूल्य भन्दा अधिकतम २० प्रतिशतसम्म नाफा लिएर बिक्री गर्न पाइन्छ । लाइफकेयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि कारबाही गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी गणेश कार्कीले जानकारी दिनुभयो ।
सामान्य अवस्थामा यो थर्ममिटर दुई हजार पाँच सय रुपैयामा पाइन्थ्यो । कोरोनाको त्राससँगै ६ हजार रुपैयासम्म पुगेको थियो । त्यसमा पनि लाइफकेयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएको कार्कीले बताउनुभयो ।
समितिले अरु तीन वटा मेडिकल पसलमा पनि अनुगमन गरेको थियो ।
अनुगमनमा बाणिज्य कार्यालय कृष्णा पौडेल, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, औषधी व्यवस्था विभागका लोकेश गिरी, प्रहरी निरीक्षक हृदेस सापकोटा, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतमलगायतको सहभागिता रहेको थियो ।
यसअघि यो टोलीले कालो बजारी गरेको भन्दै हिल्स मेडि सप्लायर्सलाई दुई लाख र कमला मेडिसिनलाई ५० हजार जरिवाना गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !