कोही नछुटुन्, कोही नदोहोरिउन्

नेपालगञ्ज – व्यक्ति या समुदाय विशेषले ‘आफ्ना’लाई राहत बाँड्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिकाले त्यस्तो कार्यलाई रोक्ने भएको छ ।
आफ्नालाई मात्रै राहत बाँड्ने कार्यले समाजमा ‘नकारात्मक’ सन्देश गएको र राहत लिने पनि कोही दोहोरिने र कोहीले नपाउने अवस्था आएपछि उपमहानगरपालिकाले ‘एकद्वार प्रणाली’लाई प्रमुखताका साथ उठाएको छ । उसले यदि कोहीले स्थानीय तहसँग समन्वय नगरेर राहत बाँडेको छ भने त्यसलाई प्रहरीमार्फत रोक्ने चेतावनी दिएको छ ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले एकद्वार प्रणालीबाट जादा विपन्न कोही नछुट्ने भएकाले स्थानीय तहसँग समन्वय गर्न मनकारीहरुलाई आग्रह गर्नु भएको छ । उपमहानगरपालिकाले सांसद, सुरक्षा अंगका प्रमुखहरुसँग बसेर यसबारेमा निर्णय गरिसकेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले व्यक्ति र समुदाय विशेषले ‘आफ्ना’लाई मात्रै राहत बाँडेको गुनासो आएको र कतिपय ठाउँमा त्यस्तो देखिदा वास्तविक श्रमजीवि छुट्न पुगेको र कोही दोहोरिएको बताउनुभयो । ‘कोही नछुटुन्, कोही नदोहोरिउन् भन्ने हाम्रो नीति हो । स्थानीय तहसँग समन्वय गर्दा छुट्ने र दोहोरिने चान्स हुँदैन ।’
नेपालगञ्ज उपमहानगरपालिकाले वडामार्फत भाडामा बस्ने श्रमजीविलाई राहत वितरणको चरणमा रहेको छ । वडा कार्यालयले त्यस्ताको लगत निकालिरहेका छन् । जुन वडाले छिटो तथ्यांक निकाल्छन्, उसले राहत वितरण गर्दै अघि बढ्ने प्रवक्ता रिजालले बताउनुभयो । वडाले दिने १५ किलो चामलमा ‘सक्षम परिवार’ले पनि आँखा लगाइदिंदा वास्तविक श्रमजीवि, विपन्नहरुले राहत पाउन ढिलाई भएको हो । पारदर्शी बनाउन दुई पुस्ते विवरण भरेर राहत दिइदैछ । शुरुमा तीन पुस्ते भनिएपनि बाजेको समेत नाम नराख्न धेरैबाट सल्लाह आएपछि उपमहानगरपालिकाले दुई पुस्ते विवरण भरेर राहत दिन थालेको प्रवक्ता रिजालले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !