दुवै मृतकको रिपोर्ट ‘नेगेटिभ’
नेपालगञ्ज – ‘आइसीयु’मा राखेर उपचार गरिरहदा मृत्यु भएका दुई जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएका बर्दियाका इसराइल बेहना र दाङबाट उपचारका लागि कोहलपुर मेडिकल कलेजमा आएका गुमानसिंह अधिकारीको मृत्युपछि जाँच गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
बेहना दमका बिरामी थिए । उनलाई मेडिकल कलेज, नेपालगञ्जले ६ गते मृत्यु हुनुअघि आइसीयुमा राखेर उपचार गरिरहेको थियो । प्यूठान घर भएपनि दाङ बस्ने अधिकारीलाई श्रीमतीले चिर्पट दाउराले हान्दा गम्भीर घाइते भएकाले कोहलपुर मेडिकल कलेज ल्याइएको थियो । अधिकारीको पनि ६ गते नै मृत्यु भएको थियो । लकडाउन अघि भारतबाट आएकाले अधिकारीको पनि कोरोना जाँच गरिएको थियो ।
मृतक दुवैको शव अस्पतालमै रहेको छ । कोरोना रिपोर्ट नेगेटिभ आएकाले आज घरपरिवारलाई शवको जिम्मा लगाउने तयारी भएको छ ।
यी दुई जनासहित ९ जनाको स्याम्पल नेपालगञ्जको भेरी अस्पतालमा जाँच गरिएको थियो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले नौ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।