खजुरामा खाद्य बैंक !
नेपालगञ्ज – बाँकेको खजुरामा ‘खाद्य बैंक’ स्थापना गरिने भएको छ ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनमा चुल्हो बाल्न नसकेका परिवारलाई घरमै पुगेर सहयोग गर्न खाद्य बैंक स्थापना गर्न थालिएको हो । ‘जनताद्वारा जनताका लागि’ भन्ने नारालाई अघि सार्दै खाद्य बैंकमा जनताले नै खाद्यान्न जम्मा गर्नेछन् । नेकपाले खजुराका पार्टी कार्यकर्ता, स्वयंसेवक, शुभचिन्तकसँग खाद्यान्न संकलन थालेको छ ।
खाद्य बैंकलाई दीर्घकालिन बनाउने रणनीति बनाइएको छ । खजुरा इन्चार्ज भीम वलीले बाढी, भुकम्पजस्ता विपति जतिखेर पनि आउन सक्ने भएकाले त्यस्तो बेलामा समेत काम लाग्ने गरी खाद्य बैंक सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
कोरोनाविरुद्ध खजुराले विशेष निगरानी गरिरहेको छ । बाहिरबाट आएका व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । टोलटोलमा स्वयंसेवक परिचालन गरेर गरीव विपन्नलाई सहयोग गरिएको छ । अरु पालिका भन्दा अगाडि नै क्वारेन्टाइन बनाएर भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिलाई राख्ने काम खजुराले नै गरेको थियो ।