जानकीमा राहत वितरण

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकाले राहत वितरण शुरु गरेको छ ।
गाउँपालिकाको वडा नं. ४ खजुराखुद्र्ध र वडा नं. ५ बेलहरीमा लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई राहत वितरण शुरु गरिएको अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार, वडाबाट संकलन भइआएका तथ्यांकका आधारमा सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण गर्न थालिएको छ ।
वडा नं. ६ गनापुर, वडा नं.३ इन्द्रपुर, वडा नं.२ बेलभार र वडा नं.१ साईगाउँमा मंगलबारबाट राहत वितरण गर्ने तयारी भएको छ । त्यसका लागि राहत प्याकिङको काम भइरहेको छ ।
गाउँपालिकाका तीन हजार १२ घरधुरीलाई अत्यावश्यकीय खाद्य सामाग्री वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनु भयो । राहत प्याकेजमा ५ जना परिवार सदस्य संख्या रहेकोलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिन दिइने छ ।
पाँच जनाभन्दा बढी परिवार सदस्य संख्या रहेको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिनका दरले बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनु भयो ।
वडाले संकलन गरेको अभिलेख अनुसार, वडा नम्बर १ मा ३ सय ३४, वडा नम्बर २ मा ६ सय ५८, वडा नम्बर ३ मा ८ सय ६१, वडा नम्बर ४ मा ४ सय तीन, वडा नम्बर ५ मा ४ सय २० र वडा नम्बर ६ मा ३ सय ३६ घरपरिवार गरि जम्मा ३ हजार १२ घरधुरीलाई राहत बितरण गरिने छ ।


error: यो सुविधा उपलब्ध छैन !