बाँकेबाट थप १५ स्याम्पल पठाइयो

नेपालगञ्ज – कोरोना जाँचका लागि बाँकेबाट थप १५ वटा स्याम्पल पठाइएको छ ।
भेरी अस्पताल र मेडिकल कलेज कोहलपुर र नेपालगञ्जको आइलोसेलनमा राखिएका १५ जनाको स्याम्पल जाँचका लागि प्रदेश प्रयोगशाला रुपन्देही पठाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले भेरीबाट तीन र मेडिकल कलेज नेपालगञ्ज र कोहलपुरबाट १२ वटा गरी १५ वटा स्याम्पल संकलन गरेर रुपन्देही पठाइएको जानकारी दिनुभयो ।
बाँकेसँगै बर्दिया र दाङबाट संकलन भएको स्याम्पल सँगै रुपन्देही पठाइएको छ । जिल्ला जिल्लाले आ–आफ्नै तरिकाले पठाउदा महंगो पर्न गएकाले पश्चिमका यी तीन जिल्लाले सँगै पठाउन थालेका हुन् । आज स्याम्पल पठाइएका १५ जनामा अधिकांश विदेशबाट आएका छन् ।
बाँकेबाट यसअघि पठाइएका ७६ वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आइसकेको छ । प्रदेश सरकारले नेपालगञ्जको भेरी अस्पतालबाटै ‘पीसीआर’ जाँच गर्न उपकरण पठाएपनि अहिलेसम्म सञ्चालन हुन नसकेको छैन । भेरीमा ल्याब सञ्चालन भए बाँके र बर्दियाको पीसीआर जाँच हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !