नेपाल भित्रिने गाडीलाई पनि सेनिटाइज

नेपालगञ्ज – भारतबाट भित्रिने मालवाहक गाडीलाई सेनिटाइज गरेर मात्रै नेपाल प्रवेश दिन शुरु गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई शाखाका कर्मचारीलाई पठाएर शुक्रबारदेखि नेपाल भित्रिने मालवाहक सवारी साधनको सेनिटाइज शुरु गरेको हो । भोलीदेखि सेनिटाइज गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिने तयारी भएको छ ।
भारतबाट दैनिक ५० बढी मालवाहक गाडी नेपालगञ्ज भित्रिने गर्दछ । भारतमा कोरोना भाइरसको त्रास बढेसँगै नाकामा मानिसको आवतजावत पूर्णरुपमा रोकिएको छ । दैनिक अत्यावश्यक सामान लिएर भित्रिने मालवाहक ट्रकलाई पनि सेनिटाइज गरेर मात्रै नेपाल प्रवेश दिइएको हो । क्लोरिनको झोलले गाडीलाई सेनिटाइज गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका गणेश कार्कीले जानकारी दिनुभयो ।
कोरोना भाइरस फलाममा समेत केही घण्टा बाँच्ने बताउने गरिएको छ । भारतबाट खाद्यान्नलगायत अत्यावश्यक बस्तु लिएर भित्रिएको ट्रकको बाहिर, भित्र, टायरमा सेनिटाइज गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !