अब भेरीमा दिनमा सय जनाको टेष्ट

नेपालगञ्ज – ‘देर आए, दुरुस्त आए’ यो कहावतसँग मिल्दो जुल्दो हुँदैछ, भेरी अस्पताल, नेपालगञ्जको ल्याब टेष्ट मेसिनको कुरा । भेरीमा ढिलो आए पनि अब्बल खालको मेसिन आउँदैछ । यो बाँकेलगायत आसपासका जिल्लाका लागि खुशीको कुरा हो ।
सरकारले कोरोना भाइरस जाँचका लागि भेरीमा ‘पीसीआर’ मेसिन पठाउँदैछ । अस्पतालसम्बद्धका अनुसार, आज काठमाडौंबाट मेसिन लोड गरेको गाडी हिड्छ । भेरीमा जडान हुन थालेको मेसिनले दिनमा सय जनाको टेष्ट गर्ने डा. बद्री चापागाई बताउनुहुन्छ । उहाँका अनुसार, भेरी पठाउनमा थालिएको मेसिन केन्द्रीय प्रयोगशालामा रहेकोजस्तै राम्रो हो ।
अहिले जति सकिन्छ धेरै स्याम्पल टेष्ट गर्न सरकारलाई चर्को दबाब परेको छ । बाँकेलगायत जिल्लाबाट काठमाडौंबाट जहाज आउने भएपछि स्याम्पल संकलन गर्ने गरिएको छ । बाँकेले यो समस्याका बीचमा ३१ वटा स्याम्पल पठाएको छ भने ३० वटा नेगेटिभ आइसकेको छ ।
भारतबाट आएर बाँकेको दशगजा, महेन्द्र बहुमुखी क्याम्पसलगायत पालिकाहरुले बनाएको क्वारेन्टाइनमा बसेकाहरुलाई छिटो भन्दा छिटो ल्याब टेष्ट गर्न आवश्यक छ । परीक्षणको दायरा बढाउनु पर्ने भएको छ । भेरीमा मेसिन जडान हुने बित्तिकै जिल्लाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको एक हप्तामै टेष्ट हुने विश्वास गरिएको छ । बाँकेमा अहिले चार सय चार जना क्वारेन्टाइनमा बसेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !