सय क्वीन्टलबढी खाद्यान्न सहयोग
नेपालगञ्ज – प्रदेश सांसद कृष्णा केसी नमुनाले स्थापना गरेको र ४० जना मनकारी जोडिएको ‘कोभिड–१९ राहत कोष’ ले एक सय चार क्वीन्टल बढी खाद्यान्न सहयोग गरेको छ ।
जिल्लाको आठ वटै स्थानीय तहलाई खाद्यान्न सहयोग गरिएको हो । सबै पालिकामा १० क्वीन्टल चामल, दुई क्वीन्टल दाल, एक क्वीन्टल नुन, सय लिटर तेल र एक सय ३५ पिस सावुन उपलब्ध गराइएको थियो । एउटा पालिकालाई ८६ हजार ५ सय ३० रुपैया बराबरको खाद्यान्न दिइएको भीम रानाभाटले जानकारी दिनुभयो ।
आइतबार नेपालगञ्ज उपमहानगरपालिकालाई खाद्यान्न सहयोग गरिएको छ । प्रदेश सांसद नमुनालगायत कोषमा आवद्धहरुको बीचमा नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा र उपमेयर उमा थापामगरले राहत बुझ्नुभयो । सरकारको नीति अनुसार कोषले स्थानीय तहमार्फत राहत वितरण गरेको हो ।
स्थानीय तहमार्फत कोषले जिल्लाभरीमा ८० क्वीन्टल चामल, १६ क्वीन्टल दाल, ८ क्वीन्टल नुन, ८ सय लिटर तेल र ९ सय ४५ पिस सावुन वितरण गरेको छ । कोषमा ४० जना मनकारीबाट ७ लाख रुपैया संकलन भएको थियो ।
अब दोस्रो चरणको राहतको विषयमा कोषमा आवद्धहरुले छलफल शुरु गरिसकेका छन् । दोस्रो चरणमा दैनिक ज्यालादारी गरेर खाने र कोरोना पीडितहरु पर्ने बताइएको छ ।