कछुवा गतिमा ‘स्याम्पल’ जाँच, भेरीमा मेसिन आउदै

नेपालगञ्ज – सुदूरपश्चिममा भारतबाट आएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज नाकाबाट भित्रिएका व्यक्तिको स्याम्पल जाँचमा ढिलाई भइरहेको छ ।
कोरोना त्राससँगै यो नाकाबाट हजारौं मानिस भित्रिएपनि पछिल्लो पटक भित्रिएका एक सय ८१ जना दशगजामै बनाइएको क्वारेन्टाइन (टेन्ट)मा बसिरहेका छन् । उनीहरुलगायत अरु पालिकाको क्वारेन्टाइनमा रहेकाहरुको छिटो भन्दा छिटो स्याम्पल जाँच गर्नु पर्नेमा ढिलाई भइरहेको छ ।
नेपालगञ्जको भेरी अस्पतालमा स्थापना गर्ने भनिएको ‘पीसीआर मेसिन’ जडान हुन ढिलाई हुँदा धेरै भन्दा धेरै स्याम्पल जाँच हुन सकेको छैन । भेरीमा कोरोनाको जाँच गर्ने मेसिन एक हप्तामा जडान हुने अस्पतालसम्बद्धले बताइरहेका छन् ।
तत्कालका लागि नेपालगञ्जबाट बुटवल या सुर्खेतका ल्याबमा स्याम्पल पठाउने छलफलहरु भएका छन् । तर, सरकारले जुन प्रदेशको त्यही प्रदेशमा पठाउनु पर्ने भनेपछि अढाई घण्टाको बाटो सुर्खेतमा पठाउन नमिल्ने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले छिटो भन्दा छिटो धेरै जनाको स्याम्पल जाँच गर्नुपर्नेमा भेरीमा ल्याब जडान नहुँदा समस्या भइरहेको बताउनुभयो ।
अहिलेसम्म बाँकेबाट केन्द्रीय प्रयोगशालामा स्याम्पल पठाउने गरिएको छ । ३१ जनाको स्याम्पल पठाइएकोमा २६ जनाको नेगेटिभ आएको छ । ५ वटा स्याम्पलको नतिजा आइसकेको छैन । स्याम्पल निकाल्ने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !