रित्तो आकस्मिक कोष, कता हराए धनी ?

नेपालगञ्ज – कोरोना भाइरसको त्रास शुरु भइसकेको थियो । धेरै मान्छे जम्मा गर्नु हुँदैन भनेर केही मान्छेहरुको नेपालगञ्ज उपमहानगरपालिकामा बैठक बस्यो । जिल्लाका ‘ठूल्ठूला’ पदधारीहरु त्यो बैठकमा सामेल भए ।
बैठकले विविध निर्णय ग¥यो । त्यसमध्येमा एउटा थियो, जिल्ला स्तरीय आकस्मिक कोष । अनि, त्यो कोषमा कसले कति हाल्ने मोटामोटी फाइनल गरियो । त्यस अनुसार नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला समन्वय समितिले ३०/३० लाख, कोहलपुर नगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले २०/२० लाख, बचेका अरु ६ वटा पालिकाले १०/१० लाख जम्मा गर्ने भनियो । कोषमा रकम जम्मा गर्नका लागि धनाढ्यलाई अनुरोध गर्ने कुरा भयो ।
दुर्भाग्य, कोरोनाविरुद्धको यो आकस्मिक कोष रित्तोजस्तै छ । नेपालगञ्ज उपहानगरपालिका आफैको अगुवाईमा निर्णय भएकाले ३० लाख जम्मा गर्नैपर्ने बाध्यता परेको छ । अरु कतैबाट पैसा आएन । पालिकाहरुले आफैले काम गरिरहेको बताइरहेका छन् । व्यापार संघले पैसा हाल्न नसक्ने पत्र नै पठाइसकेको छ । धनाढ्यहरु लुकेर बसेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले समन्वय गर्न सकेन कि ? उपमेयर उमा थापा भन्नुहुन्छ, ‘फ्लोअप गरेको हो । कतैबाट पैसा आएन ।’
जिल्लास्तरीय आकस्मिक कोषमा रकम जम्मा नभएपछि क्वारेन्टाइनमा बसेकालाई खानपिनको व्यवस्थापन गर्न विपद व्यवस्थापन उद्धार कोष बनाइएको छ । यो कोषमा राप्ती गणेश कन्स्ट्रक्सनका सञ्चालक ओमनारायण शाहले एक लाख रुपैया दिनु भएको छ । कोषबाट कोरोना भाइरस भित्रिन नदिन पूर्व तयारी, क्वारेन्टाइनलगायत आवश्यक मेडिकल सामाग्रीको उपलब्धतासँगै समितिको निर्णयका आधारमा खर्च गरिनेछ ।
उपमेयर थापाले सहयोगका लागि केही उद्योगीहरुलाई सहयोग आग्रह गरिरहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !