भारतीय क्वारेन्टाइनमा जान मानेनन् नेपाली, सम्झाउदै प्रजिअदेखि सांसदसम्म

नेपालगञ्ज – गएराती खेतमा सुतेका १ सय ७९ जना (हिरमिनियासहित) नेपालीलाई भारतीय क्वारेन्टाइनमा लैजान अधिकारीहरुले सहमति गरेपनि नेपालीले जान इन्कार गरेका छन् ।
बाँके र भारत बहराइचका सुरक्षा अधिकारीहरुले नाकामा फसेका नेपालीलाई नेपाल र भारतका क्वारेन्टाइनमा राख्ने सहमति गरेका थिए । सहमतिको कार्यान्वयनको शुरुवाती चरणमै नेपालीहरु सबै एकै ठाउँमा बस्ने अडान लिएपछि सबैलाई भारतीय क्वारेन्टाइनमा राख्ने कुरा भएको थियो । त्यस अनुसार नै जयसपुर र हिरमिनियाबाट सबैलाई जमुनाहा ल्याइएको थियो । तर, त्यहाँ पुगेपछि नेपालीहरुले भारतमा जान इन्कार गरेपछि यो समाचार तयार पार्दासम्म (पौने एघार बजे) सबै जना दशगजामै थिए ।
‘भारतीय अधिकारीहरु गाडी लिएर बसेका छन् । नेपालीहरु कुनै हालतमा जान्नौ भन्छन् । बरु मर्न तयार छौं भन्छन् । आफ्नै भूमिमा जति दिन क्वारेन्टाइन राखे पनि राख्नुस् भन्छन्, नेपालीहरुलाई सम्झाउन नाकामा पुग्नु भएकी प्रदेश सांसद कृष्णा केसी नमूनाले भन्नुभयो, नेपालतिर ल्याउने अवस्था छैन । भारतीय क्वारेन्टाइनमा ११ दिन बसिदिनुस् भन्दा उनीहरुले मान्दैनन् ।’
प्रदेश सांसद केसीसहित प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपीहरु वीरबहादुर ओली, दीपक अधिकारी, कमल भट्टराई नाकामै थिए । सबैले पालैपालो सम्झाएपनि नेपालीहरुले मानिरहेका थिएनन् ।
भारतीय क्वारेन्टाइनमा बसिदिनुस्, कस्तो व्यवस्था गरेको भनेर दैनिक हामी निगरानी गर्छौ । ११ दिनपछि आ–आफ्नो जिल्लामा पठाइदिन्छौ भनेर एसपी, प्रमुख जिल्ला अधिकारीदेखि सांसद केसीले सम्झाइरहनु भयो । भारतमा धेरै हण्डर ठक्कर खाएर नेपाल आइपुगेको आफूहरु फेरि भारत नजाने नेपालीहरुको अडान थियो ।


error: यो सुविधा उपलब्ध छैन !