क्वारेन्टाइनमा २ सय १२, खेतमा १ सय ५८
नेपालगञ्ज – बाँकेमा कति जना क्वारेन्टाइनमा छन्, कतिको रिपोर्ट कस्तो आयो ? फोनैपिच्छे सोधिने प्रश्न हो, यो ।
जिल्लामा अहिलेसम्म २५ जनाको स्याम्पस पठाएकोमा सबै नेगेटिभ आएको छ । क्वारेन्टाइनमा आउने र जाने क्रम चलिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार, क्वारेन्टाइनमा २ सय १२ जना छन् । दश जना डिष्चार्ज भएका छन् ।
नेपालगञ्जको सामर्थ इन होटलमा राखिएका ५ जनालाई महेन्द्र बहुमुखी क्याम्पसमा सारिएको छ । होटललाई खाली गरिएको छ । क्याम्पसमा अहिले ११ जनालाई राखिएको छ । सबैभन्दा धेरै भगवानपुर माविमा एक सय तीन जना छन् । मैटहवा माविमा ४०, ह्यात होटलमा २६, कृषि तालिम केन्द्र १५, मानपुर प्राविमा १४, वनकटवामा २, कोहलपुर कृषि तालिम केन्द्रमा एकजना क्वारेन्टाइनमा बसेका छन् ।
राज्यले २ सय १२ जनालाई क्वारेन्टाइनको व्यवस्था गरिरहदा भारतबाट फर्किएका १ सय ५८ जनाले रुखमुनी खेतमा रात बिताएका छन् । राज्यले न त उनीहरुलाई क्वारेन्टाइनको व्यवस्थापन गरेको छ न कि सम्बन्धित जिल्लामा पठाउन सकेको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा मान्छे पठाउदा गृहमन्त्रालयको आदेश अनिवार्य गरिएको छ । जिल्लाका अधिकारीहरुले ती व्यक्तिका बारेमा के गर्ने भन्नेमा माथिको आदेश पर्खिरहेका छन् ।