संक्रमितसँगै आएका व्यक्ति फेला, क्वारेन्टाइनमा राखियो

नेपालगञ्ज – फ्रान्सबाट कतार हुँदै आएको जहाजमा आएका बाँकेका एकजनालाई फेला पारेर क्वारेन्टाइनमा राखिएको छ । अरु दुई जनाको पहिचान भइसकेको छ ।
चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएपछि त्यो जहाजमा सवार सबैको खोजी थालिएको थियो । त्यसक्रममा बाँकेका चार जना रहेको भन्दै बाँके प्रहरीमा पत्र आइपुगेको थियो । चारमध्येमा तीन जनाको पहिचान भइसकेको छ । प्रहरीले केहीबेरमा ती दुई जनालाई पनि ल्याउने बताएको छ ।
बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले पत्ता लागेका तीन जनामध्ये एकजनालाई ल्याएर महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा राखिएको जानकारी दिनुभयो । उनी साइगाउँका थिए । अरु दुई जनालाई लिन प्रहरी गएको छ ।
एकजना भने बर्दियातिरको हुन सक्ने आशंका गरिएको छ । केन्द्रबाट आएको नागरिकता नम्बर भिडाउदा जिल्ला प्रशासन कार्यालय, बाँकेमा फेला नपरेपछि बर्दियाको हुन सक्ने आकलन गरिएको छ । तीन जनालाई ल्याएर क्वारेन्टाइन बनाइएको महेन्द्र बहुमुखी क्याम्पसमा राखिदैछ ।
विदेशबाट आएका ती व्यक्तिका बारेमा सरकारले व्यापक खोजतलास गर्दा उनीहरु भने गाउँमा मज्जाले बसिरहेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !