कम्प्रमाइज : ‘लक डाउन’ र ‘सेल्फ क्वारेन्टाइन’
नेपालगञ्ज – ‘देश भन्दा ठूलो कुरा केही छैन’
‘संविधान भन्दा माथि कोही छैन’
‘जनताको निर्णय सर्वोपरी…’
सभ्य बनौं, राज्यले गरेको आव्हानलाई शतप्रतिशत पालन गरौं । यो ‘लक डाउन’ सरकारका लागि होइन, हाम्रै लागी हो । यदि सरकारका लागी हो भन्ने सोच्छौं भने पनि सरकार भनेको हामी जस्तै मानिसहरुले चलाउने त हो । हामीले नै चुनेर पठाएका मान्छे त हुन् ।
यो आव्हान ‘लक डाउन’ बाध्यात्मक परिस्थिति हो भन्ने बुझेर पनि बुझ पचाउने हामी असभ्य प्रमाणित हुँदै त छैनौ ! छाती मै हात राखेर सोचौं त ! प्रशासन, जनप्रतिनिधि, कर्मचारी, प्रहरी, ब्यापारी, पत्रकार, डाक्टरलाई नानाथरी भनेर हामी आफु चोखो कसरी हुन सकौंला र ! यी पनि हामी मध्येबाट भएका कोही त हुन् ।
स्वास्थ्य हामी सबैको उत्तिकै महत्वपूर्ण छ, यो आफ्नो स्वास्थ्यको मात्रै विषय रहेन, सबैको स्वास्थ्यको सरोकारको विषय हो । ‘सोसल डिस्टेसिङ’ को विषयले हामी सबैलाई छुनै पर्छ । हिजो एक जना आफन्त देहान्त भयो मलामी जाँदा एक पटक ज्युँदै हुनु र मृत्यु हुनु पछिको दायरा फेरी एक पटक मानसपटलमा गहिरो छाप बनेर बस्यो ।
मृत्यु सत्य हो बाँकी तपसिलका कुरा । तर जिन्दगी रहँदासम्म मानिस प्रकृतिका बारेमा सोच्ने काम धेरै न्युन स्तरमा गर्छौं । हामी सत्य देखि दूर गइरहेका छौं । बाँच्न मात्रै होइन जीवन रहँदा ईच्छा, चाहना, आकांक्षा अनि सुविधा भोगी हुनु मानवीय स्वभाव होला । यद्यपी हामी प्रकृतिसँग खेलवाड यतिसम्म गर्छौं कि आफ्नो सुविधाका लागि प्रकृतिका सर्वब्यापी नियम एक पछि अर्को तोड्दै जान्छौं । जस्तो कि हामीलाई केही थाहा छैन झैं ।
रोग लागे पछि उपचार गर्ने एउटा बाध्यात्मक अवस्था हो । तर, जुन रोगको उपचार सम्भव छैन अथवा आफ्नै सतर्कताले सुरक्षित रहन सक्छौं भने हामी किन गम्भीर नबन्ने ? अहिले हामी गरिव खान पाउने, मजदुरी गरेर, दैनिक काम गरेर जीवनचर्या चलाउनेहरुको विषयमा सहज परिस्थितिमा सोच्ने फुर्सद हामीलाई हुँदैन । तर कुनै विषम परिस्थितिमा गरिवको दुहाई दिएर झार्ने गोहीका आँशुको महत्व म देख्दिन । हो दैनिक जीवन चलाउन सक्ने वातावरण बनाउने जिम्मेवारी राज्यको हो । यसमा फरक मत छैन मेरो ।
सामान्य अवस्थाको दैनिक जीवन यो अवस्थामा पक्कै सहज छैन, हामी जिन्दगीमा सधैं केही न केही कुरामा कम्पर्माइज गरिरहेका हुन्छौं । अहिले अलि धेरै कम्प्रमाइज गरेर सहज रुपमा स्वीकार्नुको विकल्प छैन । यतिबेला अत्यावश्यक विषयमा मात्रै सूचना लिउँ, मनोवैज्ञानिक रुपमा समस्या पैदा गराउने, तनाव लिने, अत्तालिने विषयका सूचना नलिएको बेस ।
अमेरीका, चीन, भारत वा इटालीका कुरा गरेर स्ट्रेस पैदा गर्नु भन्दा आफु सुरक्षित बस्ने प्रयास गरौं । परिवार भित्र सीमित रहौं, अझ ब्यक्ति मै केन्द्रित रहनु उपयुक्त हो । म पेशाले शिक्षक हुँ । मेरा विद्यार्थीलाई कक्षा कोठामा जति कुरा पढाउँछु वा सिकाउँछु त्यति कुरा म आफै लागु गर्न सक्ने अवस्थामा नभएपनि उनीहरु त्यो प्रयास गरिरहुन् भन्ने सोंचले कक्षा कोठामा प्रवेश गर्छु ।
भनाईको मतलव कम्प्रमाइज त जिन्दगीभरी गर्नु पर्छ । यो अवस्थामा अलि धेरै कम्प्रमाइज गर्दै सहजता उन्मुख बनाउँ भन्ने नै हो । राज्यले गर्ने काम राज्य स्तरबाट हुनै पर्छ र होला पनि, हामी आफ्नो स्तरबाट गर्न सक्ने जति गरौं । स्वास्थ्य पहिले आफ्नो बारे सोचौं अनि परिवार, समुदाय, देश हुँदै विश्वको कुरा आउला । लक डाउन, सेल्फ क्वारेन्टाइन र सोसल डिस्टेसिङका विषयमा गम्भीर बनौं । यो चाहेर होइन बाध्यात्मक अवस्था हो, त्यसैले कम्प्रमाइज गर्दै सहजता उन्मुख बनौं ।