नगर सभामा पनि ‘कोरोना’कै चिन्ता
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको छैठौं नगरसभाले विभिन्न निर्णय गरेको छ ।
नगरसभाले शिक्षा विधेयक–२०७६ लाई स्वीकृत गरेको छ । सहकारी ऐन, २०७४ को प्रथम संशोधन गरेको छ । नगरसभाले नोवेल कोरोना भाइरसबाट सुरक्षित हुनको लागि आवश्यक सचेतनामुलक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।
नगरसभाले कोरोनाविरुद्ध पूर्व तयारीका लागि आकस्मिक कोषमा रकम विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयका आधारमा प्रस्तुत भएको प्रस्तावलाई अनुमोदन गरेको छ । क्रिकेट मैदानका सन्दर्भमा संयोजक सुनिल सिंह हमालले नगरसभामा जानकारी गराउनुभएको थियो ।
नगरसभाले ५ औं नगरसभाबाट स्वीकृत वडा स्तरीय कार्यक्रमको पेश भए बमोजिमको गत आवको बाँकी मौज्जात समेतको १० करोड १७ लाख २५ हजार ७ सय १ रुपैया र नगर स्तरीय कार्यक्रमको ५० करोड ९० लाख ४० हजार ८ सय ३ रुपैया बजेट तथा रकमान्तरण तथा संशोधन गर्ने निर्णय गरेको छ ।
सुशासन समितिका संयोजक नरबहादुर विष्ट र विधायन समितिका संयोजक मेनका विष्टले पनि प्रतिवेदन पेश गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्ज उपमहानगरपालिकाले विकास निर्माणमा ठूलो फड्को मारेको बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण नगरसभामा आवश्यक स्वास्थ्य परीक्षण सहित संक्षिप्त रुपमा सम्पन्न गरिएको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । ‘समृद्ध शहर नगरबासीको रहर’ भन्ने मुल नाराका साथ नगरसभा सम्पन्न भएको थियो ।