पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपालगञ्ज – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको छ ।
घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ । नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।
मूल्य समायोजनपछि अब बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोबाट १५ किलोमिटर दुरीसम्म ढुवानी हुने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दुरीसम्मको १०५ रुपैयाँ ५० पैसा कायम भएको छ । थानकोट, सुर्खेत र दिपायल डिपोमार्फत ढुवानी हुने पेट्रोलको मूल्य १०६ रुपैयाँ कायम भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !