कोरोनाले गर्दा धमाधम घर फिर्ता

नेपालगञ्ज – दैलेखका घनश्याम सुनार चार महिनामै घर फर्किएका छन् । कामका लागि भारतको सिमलामा पुगेका सुनार कोरोनाको त्रासले घर फिर्ता भएका हुन् ।
सिमलामात्रै होइन, भारतको कालापहाड, प्रयाग, हरिद्वारलगायत शहरमा कामका लागि पुगेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । भारतमा समेत कोरोनाको संक्रमण देखिएपछि कामका लागि भारत गएका नेपालीहरु घर फिर्ता भइरहेका छन् ।
दशैं, तिहार मानेर कामका लागि भारत पुगेका नेपालीहरु कोरोनाको त्रासले गर्दा छिट्टै घर फर्किरहेका छन् । सामान्यतः चाडबाड मानेर कामका लागि गएका नेपालीहरु बर्खामा धान रोप्ने बेलामा फर्किने गर्दथे ।
कोरोनाको त्रासले गर्दा यतिबेला नेपालगञ्ज नाकाबाट धमाधम नेपालीहरु फर्किरहेका छन् । घर फर्किरहेका नेपालीले प्रायः माक्स लगाएका छन् । नेपालगञ्ज नाकामा यतिबेला दशैं र तिहारमा घर फर्किनेकोजस्तै चाप देखिन्छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले घर फर्किने नेपालीको चाप बढेको बताउनुभयो । चाडबाडजस्तै भीड लागेर नेपालीहरु घर फर्किरहदा टाँगाले ठग्न सक्ने भन्दै प्रहरीले भाडा सोध्ने गरेको छ । टाँगा सञ्चालकले रुपैडिहादेखि नेपालगञ्जसम्म कति भाडा लिएको छ ? प्रहरीले फिर्ता भइरहेका नेपालीलाई सोध्ने गरेको छ । नेपालीले रुपैडिहाबाट नेपालगञ्जसम्म ८० देखि सय रुपैया तिरेको पाइएको छ । इन्चार्ज रिजालले कतिपयसँग हजार रुपैयासम्म लिने गरेको पाइएपछि नाकामा भाडा सोध्ने गरेको बताउनुभयो ।
जमुनाहा नाकामा हेल्थ डेस्क राखिएको छ । टाँगामा बसेर आएका नेपालीलाई जाँच पनि गर्ने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !