यस्तो देखियो नेपालगञ्ज नाका

नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाका बन्द हुने खुब चर्चा भयो । भारतले खुल्ला गर्ने भनेको चार नाकामा जमुनाहा (रुपैडिहा) नाका नपरेपछि बन्दको चर्चा भएको थियो । आइतबार रातीदेखि बन्द हुने हल्ला थियो ।


सोमबार विहान सुनपानीको टीम जमुनाहा नाकामा पुग्यो । नाकामा आवतजावत उस्तै थियो, जस्तो पहिला हुन्थ्यो अर्थात रोकावट थिएन । तर, मान्छेको चहलपहल कम देखिन्थ्यो । सवारी साधन कम चलेका देखिन्थे । नेपालगञ्ज भन्सार कार्यालयदेखि जमुनाहासम्म नै लाइनमा बस्ने गाडीको संख्या अलि कम थियो ।


मान्छेहरु निर्वाध आवतजावत गरिरहेका थिए । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले बन्द गर्ने कुनै सूचना नै नआएको बताउनुभयो । ‘नाका बन्दको हल्लाले मान्छेहरु आफै कम आवतजावत गरिरहेका छन्, रिजालले भन्नुभयो, कोरोनाको त्रासले हुन सक्छ । मान्छेहरु अत्यावश्यक कामबाहेक हिडिरहेका छैनन् ।’


नेपालगञ्जदेखि करिव दुई सय किलोमिटर टाढा रहेको भारतको लखनऊमा कोरोना संक्रमण देखिएपछि यो नाकामा सजकता अपनाउनु आवश्यक भने छ । नाकामा उपमहानगरपालिकाले खटाएका स्वास्थ्यकर्मीले जाँच गरिरहेका देखिन्थे ।
नेपाल र भारतका सीमावर्ती अधिकारीहरुको बैठकमा पनि दुई देशबाट नै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउने निष्कर्ष निकालिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !