श्रमिक महिलालाई सम्मान

खजुरा – बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आइतवार महिला हक अधिकार सम्बन्धमा वर्तमान कानूनमा भएका व्यवस्थाबारे अन्तरक्रियात्मक अभिमुखीकरण तथा श्रमिक महिलालाई सम्मान गरिएको छ ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले संविधानले महिलाका अधिकार सुनिश्चित गरेको बताउँदै खजुरा गाउँपालिकाले त्यसैमा टेकेर अधिकार कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले श्रमिक महिला, पछाडी पारिएका महिलाहरुको खोजी गर्दै खजुराले उनीहरुको लागि सीप तथा तालिममार्फत जीवनयापनदेखि व्यवसायिकतासम्मको सहयोग गर्ने नीति ल्याएको उल्लेख गर्नुभयो । अध्यक्ष कक्षपतिले यसै वर्ष २० जना अपांगता भएका व्यक्ति र ३० जनता अति गरिबी तथा दयनीय अवस्था भएका महिलाका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत २० लाख रुपैयाँ छुट्याएर व्यवसायिक सीप प्रदान गरिने बताउनुभयो ।
गाउँपालिका उपप्रमुख एकमाया विकले महिलालाई उत्पादनसँग जोड्नका लागि मोडेलका रुपमा उक्त कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले लक्षित वर्गसम्म पुग्ने र उपलब्धी हुने कार्यक्रम ल्याइने बताउँदै त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख विकले संघीयताको मर्म र भावना अनुसार नै सबैभन्दा नजिकको स्थानीय सरकार सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
कानूनमा महिला अधिकारबारे सहजीकरण गर्दै नेपाल वार अध्यक्ष तथा खजुरा गाउँपालिकाका कानूनी सल्लाहकार विकास आचार्यले वर्तमान कानूनमा महिलाका अधिकार सुनिश्चत गर्न धेरै सकारात्मक व्यवस्था ल्याएको औल्याउनुभयो ।
यसैबीच आठ जना श्रमिक महिलालाई सम्मान गरिएको छ ।
जनही २ हजार नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो । बाँके युनेस्को क्लव, सुआहारा कार्यक्रम, बीग्रुप, जनजागरण समाज, दलित महिला संघ, बाँके र स्याक नेपालको सहयोगमा खजुरा गाउँपालिकाको आयोजनामा उनीहरुलाई सम्मान गरिएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिनुभयो । वडा नं. १ की श्यामप्यारी थापा, वडा नं. २ की गौरी विक, वडा नं. ३ की दुर्गा श्रीस, वडा नं. ४ की तिलसरा पुनमगर, वडा नं. ५ की मनकुमारी दर्लामी, वडा नं. ६ की हजारी सुनार, वडा नं. ७ की बिमला बिटालु, वडा नं. ८ की आश्रुम खाँ र उनका पति रजब्ब खाँलाई सम्मान गरिएको हो । खाँ दम्पतीले श्रम गरेर आफ्नो छोरीलाई कक्षा ११ सम्म अध्ययन गराइरहेका छन् । उनीहरु सबैलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, कार्यपालिका सदस्यहरुले संयुक्तरुपमा सम्मान गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !